भदौ १४ गतेदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै, ५० हजारले अवलोकन गर्ने अनुमान



काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स) आउदो भदौ १४ गतेदेखि सुरु हुने भएको छ । नेपाल फर्निचर्स तथा फर्निसिङ संघले आयोजना गर्न लागेको सो एक्स्पोका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामाग्री प्रदर्शनीको मुख्य आकर्षण रहने नेपाल फर्निचर्स तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।

एक्स्पोको छैठौँ संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने अध्यक्ष अग्रवालले जानकारी दिए । नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ३० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको आँकलन रहेको उनले बताए ।

फर्नेक्स २०१८ का संयोजक शुभेन्द्र जोशीका अनुसार एक्स्पोमा कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीका लागि राखिनेछ ।

‘यो एक्स्पोमा कुनै खरिद विक्रीको काम हुँदैन, यसमा सर्वसाधरणले अवलोकन गर्न, मूल्य, गुणस्तर र प्रयोगको बारेमा बुझ्न पाउने छन्,’ जोशीले भने ।

एक्स्पोमा १ सय बढी स्टल राखिने झन भने बंगलादेश, पाकिस्तान र भारतलगायतका मुलुकहरुको पनि सहभागिता हुने उनले जानकारी दिए । उनले एक्स्पोमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने बताए ।

हाल नेपालमा ४० प्रतिशत मात्र फर्निसिङका सामाग्री उत्पादन हुने र ६० प्रतिशत सामाग्री बाहिर बाटै भित्राउनु पर्ने बाध्यकारी अवस्था रहेकाले फर्निचरजन्य उत्पादनमा आधुनिक प्रविधि भित्र्याउँदै मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने जोशीको भनाई छ ।

एक्स्पोमा ५० हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ । फर्निचर र फर्निसिङ एक्स्पो भदौ १८ गतेसम्म चल्नेछ ।


क्लिकमान्डु