उद्योगमन्त्री यादव भन्छन् : डा. महतले अर्थतन्त्र डुबाए



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले डा रामशरण महतले देशको अर्थव्यवस्था खत्तम बनाएको आरोप लगाएका छन् ।

महतको नाम नलिई उद्योगमन्त्री यादवले जसले देशको अर्थव्यवस्था खराब पार्यो उद्योग व्यवसाय चौपट बनायो उसले अन्तराष्ट्रिय क्षेत्रबाट अवार्ड पाएको बताए ।

राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको आगामी वर्षको लागि बिनियोजन गरिएको बजेटको विषयमा जवाफ दिदै उद्योगमन्त्री यादवले विगतमा निजीकरण र उदारिकरणको खतरनाक स्कूल स्थापना गरिएको बताए ।

‘चलेको उद्योगलाई विभिन्न कारणले घाटामा ल्याउने काम भयो जसले गर्दा विगतमा उद्योगधन्दा धरासायी भएको छ,’यादवले भने ।

उनले विश्वका मुल्यांकनकर्ता मानिससँग आश्चर्य लागेको भन्दै देशको अर्थतन्त्र संकटमा पार्ने तथा उद्योगधन्दा चौपट पार्नेले सम्मान पाएको छ ।

डा महतले बेलायतबाट प्रकाशित हुने ‘दि ब्यांकर’ले उत्कृष्ट अर्थमन्त्रीको अवार्ड दिएको थियो ।

उद्योगमन्त्री यादवले बन्द भएका सरकारी उद्योगहरु सुचारु हुने जानकारी दिए ।
विगतमा आयातकर्तासँग प्रभावित भएर उद्योग नचलेको भन्दै रुग्ण उद्योग चलाउने घोषणा गरे ।


क्लिकमान्डु