मौद्रिक नीतिः अब बैंकले नै गरिदिन्छ तपाईंको बीमा



काठमाडौं । तपाईं बीमा गर्न चाहनुहुन्छ भने बीमा कम्पनी नगए पनि हुने भएको छ । तपाईंले बैंकमै गएर पनि जीबन तथा निर्जीबन बीमाको सेवा लिन पाउने हुनुभएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ‘बैंकासुरेन्स’ को नीति ल्याएर बैंकबाटै बीमाको सेवा दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

बैंककासुरेन्सको ब्यवस्था भएपछि बैंक र बीमा कम्पनीबीच सम्झौता हुन्छ र बैंकका हरेक शाखामा बीमा कम्पनीको डेस्क हुन्छ । र, बैंकमा जाने ग्रहकले त्यहीँबाट बीमाको सेवा लिन सक्नेछन् ।

‘मौंद्रिक नीतिले बैंकासुरेन्स गर्न पाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

अहिले पनि बैंकहरुले बीमा कम्पनीसँग सम्झौता गरेर बैंकासुरेन्स भन्दै बीमाको सुविधा दिइरहेका छन् । तर, त्यो बैंकासुरेन्स नभएर बीमा समितिबाट बीमा एजेन्टको लाइसेन्स लिएर एजेन्टको मात्रै काम गरिरहेका छन् ।

‘अहिले कुनै ग्राहक बैंकमा गएर बीमाको पोलिसी किन्न पाउँदैछ, पोलिसी किन्न बीमा कम्पनीमै जानुपर्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘मौद्रिक नीतिले बैंकहरुले बैंकासुरेन्सको सेवा दिन पाउने नीतिगत व्यवस्था गरेपछि ग्राहकले बैंकमै गएर बीमाको पोलिसि किन्न पाउनेछन् । बीमा कम्पनी गइरहनु पर्दैन ।’

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमै यस सम्बन्धमा सम्बोधन गर्ने तयारी गरेको थियो । तर, अन्तिममा यो नीति आएन ।

तर, आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा भने यो नीति आउने स्रोतको दाबी छ ।

‘सरकारले बीमाको पहुँच बढाउने नीति लिएको छ, बैंकबाटै बीमाको सुविधा दिने हो भने बीमाको पहुँच बढ्ने भएकाले पनि सरकारी नीतिलाई सफल बनाउन बैंकासुरेन्सको नीति ल्याउन लागिएको हो,’ स्रोतले भन्यो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाई बीमाको पहुँच बढाउने सरकारी नीति सफल बनाउने हो भने राष्ट्र बैंकले बैंकबाटै बीमाको सेवा लिन पाउने ब्यवस्था मिलाउनै पर्ने बताउँछन् ।

‘बैंकासुरेन्स नगर्ने हो भने सरकारले बजेटमा लिएको लघु बीमाको लक्ष्य पूरा हुन सक्दैन,’ चापागाईंले क्लिकमाण्डूसँग भने, ‘यो कुरा मैले अर्थमन्त्री र गभर्नरसँगै भएको फोरममा पनि प्रष्टसँग उठाएको छु, उहाँहरु दुबैजना सकरात्मक हुनुहुन्छ ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा आगामी २ वर्षभित्र बीमा कम्पनीहरुको कुल बीमा शुल्कमध्ये १० प्रतिशत लघुबीमामार्फत् उठाउनु पर्ने लक्ष्य राखेका छन् ।


पुष्प दुलाल