उपप्रधानमन्त्री पोखरेल र इपीजी भारत संयोजक कोसियारीको भेटमा के कुरा भयो




काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीका भारत पक्षका संयोजक भगतसिंह कोसियारीले आज भेट गरी समूहको सुझावबारे अवगत गराएका छन् ।

आफूहरुले साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस् भन्ने भारतले चाहेको बताएका थिए ।

कोसियारीले आगामी दिनमा दुई देशकाबीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी गराएका थिए । साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिए ।

उनले दुवै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यान्वयन गर्नेतर्फ ध्यान दिने विश्वास व्यक्त गरे । “जसरी समझदारीका साथ प्रतिवेदन तयार गर्नुभएको छ, अब प्रभावकारी कार्यान्वयनमा पनि तपाईँले भूमिका खेल्नुपर्छ”–उपप्रधानमन्त्री पोखरेलले भने । उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट र अन्तक्र्रिया भइरहनुपर्नेमा जोड दिए ।

“नेपाल–भारतबीचको सम्बन्धलाई बलियो र सुमधुर बनाइराख्न राजनीतिक तहमा पनि नियमित भेटघाट, अन्तक्र्रिया र छलफल हुन जरुरी छ”–उनले भने । उनले दुई देशबीच आइपर्ने कतिपय व्यावहारिक समस्याबारे पनि समझदारीका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । रासस


क्लिकमान्डु