स्वास्थ्य मन्त्री यादव भन्छन्–शिक्षा र स्वास्थ्यको विकास गरे मात्रै देश समृद्ध हुन्छ



 

भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताएका छन् ।

आज भक्तपुर अस्पतालको ११४ औँ वार्षिकोत्सवमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताएका हुन् । उनले भने, “राम्रो शिक्षा पाए रोजगारको समस्या समाधान हुन्छ, सबै उपचार हुने राम्रा अस्पताल बने जनता निरोगी हुन्छन्, त्यसले सबै विकासलाई सहयोग पु¥याउँछ ।”

पैसा नभएकै कारण कुनै पनि जनता उपचारबाट वञ्चित हुँदै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्न नहुने बताउँदै उनले यस्तो अवस्था आए राज्य आफैँ असफल हुने बताए ।

उपप्रधानमन्त्री यादवले लामो समयदेखि राज्यको ध्यान राम्रो विद्यालय बनाउने र राम्रा अस्पताल बनाउनेतर्फ नभएको टिप्पणी गर्दै उनले भने, “लामो समयदेखि राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन, ध्यान दिएको क्षेत्र पनि गतिलो छैन, आज जनतालाई शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गराउनुपर्छ ।”

उनले अस्पतालमा सघन उपचार कक्ष आइसियु सञ्चालन गर्नुपर्नेमा जोड दिँदै केही महिनाभित्रै भक्तपुर अस्पताललाई एम्बुलेन्स दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरका चारैवटा नगरपालिका र यहाँका जनप्रतिनिधिहरुले तत्काल भक्तपुर अस्पतालमा आइसियु सञ्चालन गर्न आवश्यक सहयोग गर्छौं भन्दा पनि अस्पतालले सञ्चालन नगरेकामा असन्तुष्टी व्यक्त गरे ।

भक्तपुर अस्पतालका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले यस अस्पतालमा वार्षिक चार करोडभन्दा बढी आन्तरिक आय हुने बताउँदै उनले आयव्यय विवरण सार्वजनिक नगर्ने र पारदर्शी नहुँदा समस्या आएको बताए ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको आशा र विश्वास सरकारी अस्पतालमा हुनुपर्नेमा जोड दिँदै बिरामी सरकारी अस्पताल छाडेर निजीमा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारी अस्पतालबाट गुणस्तरीय सेवा पाएर जनता खुशी हुने दिन आउनुपर्ने बताए ।

अस्पतालकी सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले विसं १९६१ असार १७ गते स्थापना भएको यो अस्पताल हाल बिरामी अन्यत्र पठाउने केन्द्रका रुपमा परिणत भएको बताउँदै अस्पतालमा आइसियु सञ्चालन गर्न दरबन्दी नभएकाले नसकिएको भनाइ राखिन् ।

अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले विगतका तुलनामा अस्पतालले उपचारमा धेरै सुधार ल्याएको र बिरामीको संख्यासमेत बढ्दै गएको बताउँदै सबै मिलेर अस्पतालको विकास गर्नुपर्ने औल्याए ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं पुरस्कार प्रदान गरेका थिए । उनले आजैबाट अस्पतालले सञ्चालनमा ल्याएको तीन शैयाको ‘हाईकेयर युनिट’को उद्घाटन गरेका थिए । रासस


क्लिकमान्डु