डिग्रीको सर्टिफिकेट थन्क्याएर होटलको चेन बनाउँदै प्याकुरेल बन्धु



मलेसियामा विद्यालयसम्मको पढाई पूरा गरी अष्ट्रेलियामा उच्च शिक्षा गरेका काठमाडौंका विवेक प्याकुरेलले सन् २०१२ मा नेपाल फर्कंदा होटल व्यवसायमा लाग्ने विषयमा सोचेका थिएनन् ।

इन्टरनेशनल रिलेशनमा अष्ट्रेलियामा मास्टर सकाएपछि नेपाल फर्केका विवेकले शुरु गरेको नाना होटल काठमाडौंबाट फैलिएर ललितपुर पोखरा, सौराह हुँदै नवलपरासीसम्म पुगेको छ । धम्पुसमा होटल खुल्ने तयारीमा छन् उनी । नवलपरासीमा उनको थ्रीस्टार सरहको रिसोर्ट छ भने अन्यत्र बजेट होटल ।

२९ वर्षे विवेकको परिवारले ठमेलबाट शुरु गरेको होटल व्यवसाय यात्रामा अहिले उनका भाई आकाशपनि जोडिएका छन् । आकाशले होटलमा रहेको व्यवसायलाई रियलस्टेट हुँदै चकलेट उद्योगसम्म फैलाएका छन् ।

अष्ट्रेलियामा पढाई सकेपछि नेपालमा घुम्न निस्कदा बजेट होटल चलाउने आइडिया क्लिक भएको विवेक सुनाउँछन् ।

‘मलेसियामा र अष्ट्रेलियामा बसेको हुँदा मलाई नेपाली भाषा राम्रोसँग बोल्न आउँदैनथ्यो, नेपालका विभिन्न भागमा नेपाल बुझ्नको यात्रा गरे’ आकाशले होटल क्षेत्रमा प्रवेश गर्दाको अनुभव सुनाउदै भने ।

अष्ट्रेलियामा पढाई सकेपछि नेपालमा घुम्न निस्कदा बजेट होटल चलाउने आइडिया क्लिक भएको विवेक सुनाउँछन् ।

घुम्न जाँदा सीमित बजेटमा बस्न सक्ने होटल देखिएनन्, त्यसपछि बजेट होटल चलाउने सोच आयो । सानो आकारको भएपनि होटल व्यवसाय पारिवारिक रुपमा चलेको थियो । त्यसबाट बजेट होटलमा हात हालेका विवेक नाना होटललाई देशभर फैलाउन लागि परेका छन् ।

‘स्टार्टअपको कल्चर नहुँदा आफन्त र साथीभाईको सहयोगमा होटल व्यवसाय सुरुवात गरेको हो’, विवेकले भने,‘सबै गरेर अहिले आफ्नो होटमा ८० जनाले रोजगारी पाएका छन् ।’

विभिन्न संस्थाको अनुसन्धानमा संलग्न भएका आकाशलाई आइएनजीओमा जागिर खाने मन थिएन । ‘घुम्ने र परिवारले चलाएको होटल हेर्दै गर्दा बजेट होटलमा लाग्ने निर्णय लिएँ’ विवेकले भने, ‘कम खर्चमा पारिवारिक वातावरणमा होटलमा सुरक्षित बस्न सकिने काम काम गरेको छु ।’ यसले घुम्न निस्कने पर्यटकले कम खर्चमा सुविधा सम्पन्न होटलमा बस्न सक्छन् ।

विदेशमा पढेको मान्छे के होटल क्षेत्रमा लागेको भनेर शुरु शुरुमा अनेक कुरा सुन्नु पर्यो । ‘विदेशबाट पढेर आएको व्यक्ति रातभर ठमेलमा बस्छ, यस्ता कुराहरु चर्चा नभएका होइनन्, यी सबै समयक्रमसँगै हराउदै गए ।’

नेपालमा हरेक युवायुवतीको सपना नै विदेश जाने भएको छ । नेपालमा आकर्षक जागिर छाडेर युरोप, अमेरिका र अष्ट्रेलिया जाने लर्को लागेको बेला अष्ट्रेलियाको बसाई छाडेर नेपालमा व्यवसाय गरिरहेका विवेक र आकाश एक उदाहरण नै हुन् ।

‘नेपालमा पढेका आफ्ना साथीभाई र आफन्तहरु विदेश गइरहेको बेला नेपाल फर्केको थिएँ, यही केही गर्ने सोचका साथ’,उनले भने । ‘२ वर्षसम्म नेपालमा केही काम गरौं, सफल भए ठीक छ नभए अर्को केही अप्सन आइहाल्छ भन्ने सोचले आएको थिएँ ।’ उनले आफ्नो शुरुवाति अवस्थाबारे बताए ।

घुम्न हिड्दा परिवारले चलाएको होटललाई नयाँ ढंगले सञ्चालन गर्दा विवेकले नाना होटललाई फैलाउन सफल भएका हुन् । नाकाबन्दीको समयमा पढाई सकेर नेपाल फर्केका विवेकका भाई आकाशले उनलाई थप साथ दिए । जसले नाना ब्राण्डबाट दुई भाईले होटल हुँदै रियलस्टेट र चकलेट उत्पादनमा समेत हात हालेका हुन् ।

अष्ट्रेलियामा पत्रकारितामा मास्टर गरेका आकाशले ३ महिना अष्ट्रेलियामा एबीसीमा गरेको इन्टरसिपको क्रममा नै आफुले पत्रकारिता पढेपनि यो क्षेत्रमा रम्न नसक्ने बुझिसकेका थिए ।

‘दाईले होटल व्यवसायमा राम्रो गरेको देखेपछि त्यसैमा लागें, रियलस्टेटमा सम्भावना भएको हुँदा यसको काम गर्दा नाना रियलस्टेट खोल्यौं’, दाईको कुरा सुनेपछि भाई आकाशले भने । पछिल्लो ६ महिनाले नाना डिलाइटको नाममा चकलेट व्यवसायमा समेत हात हालेका आकाश नेपाली चकलेट ब्राण्डलाई सानो आकारबाटै व्यवसाय बिस्तार गर्ने सोचमा छन् ।

‘हामीले सानो आकारमा काम गरिराखेका छौ, चकलेटमा प्रारम्भिक कालमा केही कठिनाई भएपनि अहिले निकै राम्रो फिडब्याक आएको छ, थप विस्तार गर्नुपर्ने देखिएको छ।’उनले थपे ।

अहिले मुख्यरुपमा विवेकले नाना होटलको व्यवस्थापन हेर्छन् भने भाई आकाशले सहयोग गर्छन् । आकाशले रियलस्टेट र चकलेटको व्यवस्थापन हेर्छन् भने दाई विवेकले सहयोग गर्छन् ।

बजेट होटलको सञ्चालनको अनुभवको आधारमा विवेक गेस्टसँग अन्तरक्रिया र पारिवारिक वातावरण दिन सकेमा यसको सम्भावना राम्रो रहेको बताउँछन् । अहिले नाना होटल ठमेलको २४ वटा कोठाको छ भने सौराहको १६ तथा पोखरामा पनि यही खालको कोठा छन् । नवलपरासीमा भने २२ वटा रिसोर्टमा कोठा उपलब्ध हुन्छ । ‘नवलपरासीमा अर्गानिक वातावरणमा बस्ने गरेर हामीले रिसोर्ट निर्माण गरेका छौ । एक सय रोपनीमा फैलिएको रिसोर्टमा प्राकृतिक वातावरणमा बस्न सक्ने सुविधा उपलब्ध हुन्छ’, विवेक भन्छन् ।

‘दाईले होटल व्यवसायमा राम्रो गरेको देखेपछि त्यसैमा लागें, रियलस्टेटमा सम्भावना भएको हुँदा यसको काम गर्दा नाना रियलस्टेट खोल्यौं’, दाईको कुरा सुनेपछि भाई आकाशले भने ।

पछिल्लो चार वर्षमा बजेट होटलको क्षेत्रमा ठूलो परिवर्तन भएको बताउँदै विवेकले सफा र पारिवारिक वातावरण दिन सकेमा यसमा ठूलो लगानी नचाहिने बताए ।

आफुहरुले पनि परिवारका सदस्यको सहयोगमा व्यवसाय सुरु गरेको र फाइदा हुँदै गएपछि अन्यन्त्र लगानी बढाएको उनले सुनाए ।

सबै व्यवसाय नानाको नाममा किन ? यो प्रश्नको जवाफमा विवेकले भने, ‘नाना हाम्रो जिजु हजुरआमाको नाम हो, हामीले गेट ग्राण्ड मदरको नामबाट त्यो खालको सुविधा हुने गरी होटल चलाएको हो, त्यही नामबाट रियलस्टेट र चकलेटको पनि सुरुवात भयो ।’ ग्रेट ग्राण्ड मदरले परिवारलाई स्नेहका साथ जसरी समाल्नु भएको थियो, त्यसरी नै त्यही वातावरण होटलमा दिने विवेकले बताए ।

नाना होटल अहिले देशको प्रमुख सहरमा छ । त्यसरी नै आकाशले पनि चकलेटलाई देशभर पुर्याउने लक्ष्य लिएका छन् ।

‘नेपालमा उद्यमशिलताको लागि स्टार्टअपको कल्चर नहुँदा ठूलो समस्या छ,आइडिया भएपनि व्यवसाय गर्न पुँजी नहुँदा समस्या देखिन्छ’ विवेकले आफ्नो उद्यमशिलताको अनुभव सुनाउँदै भने ।

यद्यपी ४ वर्षको अवधीमा धेरै कुरा परिवर्तन भएको र उद्यम गर्न चाहनेलाई प्रोत्साहन गर्ने र त्यो अनुसारको वातावरण बनाइदिने काम बढ्दै गएको बुझाई उनको छ ।

नाना होटलमा ८५० देखि २ हजारसम्ममा कोठा पाइन्छ । यसलाई देशका सबै सहरमा पुर्याउने लक्ष्य विवेकले राखेका छन् । अर्थात, देशभर सानो आकारमा बजेट होटल खोल्दै जाने । यसमा नेपाली ब्राण्डको चकलेट नानालाईसँगै लैजाने योजना भाई आकाशको छ । दुईभाईको उडान नानालाई देशभर फैलाउने मै छ ।


क्लिकमान्डु