मासु खानका लागि कुकुर नमार्न कोरियामा अदालतको आदेश



सोल । दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।

बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् ।

साथै यस आदेशलाई अरु सर्वसाधारण कोरियाली नागरिकले पनि स्वागत गरेका बताइएको छ । अदालतको आदेशमा कोरियामा मनाइने एक पर्वमा कुकुर मार्ने अभियान नै चलाउने गरिएकोमा त्यसलाई अवैध भनिएको छ ।

साथै सो फैसलामा अबदेखि मासुजन्य पदार्थका लागि कुकुर मार्न नपाइने आदेश दिइएको छ । अधिकारकर्मीहरु सो आदेश मागगर्दै अदालत गएका थिए ।

दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय छ । यहाँ मासु खानकै लागि हरेक वर्ष कम्तीमा पनि १० लाख कुकुर मार्ने गरिएको विश्वास गरिन्छ ।

तर पछिल्ला वर्षहरुमा भने यहाँ कोरियाको मासुको खपतमा कमी आएको पाइएको थियो । किनभने कुकुरको मासु खाने पर्वमा निकै हिंस्रक रुपमा कुकुर मार्ने गरिएकोले धेरैलाई यो मन परेको थिएन ।

त्यसैगरी कुकुर मानिसको साथीजस्तै जनावर हो भन्ने भावना मानिसमा पछिल्लो समयमा बढ्दै गएकोले गर्दा पनि मासुको खपतमा कमी आएको पाइएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियामा करिब १७ हजार कुकुर पाल्ने फार्म छन् । ती फार्मका लगानीकर्ता र मालिकहरुले भने यस आदेशको विरोध गरेका छन् ।

त्यसैगरी केही सांसदले यसअघि संसदमा कुकुरको मासु प्रतिबन्ध लगाउनुपर्ने कानुन निर्माण गर्न संसदमा प्रस्ताव पनि प्रस्तुत गरेका थिए ।

ती प्रस्तावमा पनि ती फार्मका मालिक र कुकुरको मासुका पारखीहरुले विरोध जनाएका थिए । रासस


क्लिकमान्डु