विराटनगरलाई कसरी बनाउने बेलायतको भगिनी सहर ?



विराटनगर : नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले समाजमा उन्नति एवं प्रगति गर्न सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने खाँचो आंैल्याउनुभयो ।

उहाँले विराटनगर महानगरपालिका क्षेत्रमा रहेका ५४ वटा सामुदायिक विद्यालयमा पाँच वटालाई नमूना विद्यालय बनाउन रु ५० लाख विनियोजन गरेको र ३२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गराएको जानकारी दिँदै नगर क्षेत्रमा पूर्वाधार र सामाजिक कार्य गर्न वित्तीय अभाव रहेकाले दातृ निकायसँग सहयोगको अपेक्षा गर्नुभयो ।

विपन्न परिवारको मानिसको शिक्षामा पहँुंच नभएसम्म विकासको मूलधार पहिल्याउन गाह्रो हुने भन्दै प्रमुख पराजुलीले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । विराटनगर क्षेत्रलाई ऐतिहासिक शहरको रुपमा विकास गर्न आफू लागिपरेको उल्लेख गर्दै प्रमुख पराजुलीले बेरोजगारी समस्या समाधान गर्न र स्वरोजगार सिर्जना गर्न कक्षा १२ सम्मलाई प्राविधिक बनाउन आवश्यक छलफल गरिरहेको बताउनुभयो ।

निजी क्षेत्रसँग सहकार्य गरेर विराटनगर क्षेत्रको विकास गर्न आफू निरन्तर प्रयत्नशील रहेको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा फड्को मार्न कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउन पहल गरिरहेको उल्लेख गर्नुभयो । सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले एक वर्षको अवधिमा न्यायिक समिति बनेको र अहिलेसम्ममा करिब १०० वटा मद्दा छिनोफानो गरेको जनाउनुभयो ।

भेटमा राजदूत मोरिसले विराटनगर महानगरपालिकाले अपनाएको रणनीति र तथा विकासका योजना प्रशंसनीय छ भन्दै अगामी दिनमा महानगरपालिकाले तयार पार्ने योजना र रणनीतिमा सफलता मिलोस् भनी शुभकामना दिनुभयो । रासस


क्लिकमान्डु