नजिकियो फुटबलको महासंग्राम, नेपालमा कतिमा पाइन्छ जर्सी ?




काठमाडौं । फुटबलको विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । जेठ ३१ (जुन १४) देखि २१ औं फिफा वल्र्डकप रसियामा सुरु हुदैछ ।

फिफा वाल्र्डकपको ज्वरोले सबैलाई तताइसकेको छ । छनोट भएका देशका टोली फूटबल खेल्न तयारी अबस्थामा छन् ।

रसियाका विभिन्न ११ सहरमा जुन १४ तारिखदेखि सञ्चालन हुने विश्वकपले रसियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिईएको भएपनि कति सकारात्मक प्रभाव पार्छ भन्ने अहिल्यै बताउन नसकिने रसिया सरकारले बताएको छ ।

२०१८ को विश्वकप १० लाख विदेशी नागरिक र ७० हजार रसियनले प्रत्यक्ष रंगशालामै गएर हेर्ने बताईएको छ । विश्वकपका लागि भन्दै रसियाले १२ वटा रंगशाला तयार गरेको छ । यी १२ वटा रंगशालामा ५ लाख भन्दा धेरै दर्शक अटाउनेछन् ।

विश्वकपलाई नै लक्षित गरेर रसियाले ११ वटा विमानस्थलको स्तारोन्नति गरेको छ । ३ वटा नयाँ मेट्रो स्टेसन र १२ वटा नयाँ सडक निर्माण गरेको छ । यसका अलवा रसियाले १३ वटा नयाँ अस्पताल पनि तयार गरेको छ । २७ वटा नयाँ पाँच तारे होटल निर्माण गरेको छ ।

विश्वकपको तयारीका लागि रंगशाला निर्माण र पूननिर्माणमा मात्रै १३ हजार जनाले प्रत्येक्ष रोजागरी पाएका थिए । फुटबल खेल हुने विभिन्न ११ वटा सहरमा ७१ प्रतिशतले विदेशी पर्यटक बढेका छन् ।

यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । आन्तरिक पर्यटनमा पनि ५७ प्रतिशतले बृद्धि भएको छ । खेल सञ्चालन हुने ११ वटा शहरसम्म पुग्नको लागि ३१ वटा रेलवे मार्ग सञ्चालनमा ल्याईएको छ ।

रसिया विश्वकप आयोजक बन्ने घोषणा भएपछि मात्रै त्यहाँका खेलकुद विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या १४ प्रतिशतले बृद्धि भएको छ । रसियामा आधिकारिक रुपमा दर्ता भएका फुटबल क्लबमा खेलाडीको संख्यामा बृद्धि भएर ७ लाख ५० हजार पुगेको छ ।

अहिलेको विश्वग्राम अवधारणामा नेपाल पनि यो महाउत्सबबाट टाढा हुने कुरै भएन । नेपालले खेल्न वा खेल आयोजना गर्न नपाएको मात्रै होइन, नेपालका छिमेकी देशले पनि खेल्न वा आयोजना गर्ने मौका पाएका छैनन् ।

तर पनि नेपालमा फुटबल फ्यानको कमी छैन । नेपालीहरु ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेन, पोर्चुगल जस्ता फुटबलका महारथी देशका फ्यानहरु ठूलो संख्यामा छन् । आफ्नो समर्थन रहेको देश र खेलाडीको जर्सी लगाएर हिड्ने नेपालीको संख्या निकै बढेको छ ।

कति पर्छ जर्सीको मूल्य ?
वल्र्डकप नजिकिएसँगै नेपालका होलसेलदेखि खुद्र पसलमा रङगीबिरङगी जर्सीहरु देखिन थालेका छन् । बजारमा ५ सय २५ रुपैयाँदेखि १ हजार ३ सय रुपैयाँसम्मको जर्सी पाइने गरेको छ ।

तेक्वान्डो खेलाडी दिपक बिष्टको नयाँ बानेश्वर स्थित स्पोर्ट यूनिभर्समा ६ सय ५० रुपैयाँदेखि १ हजार ५० रुपैयाँसम्मको जर्सी छ ।

बच्चाहरुको जर्सी ६ सय ५० रुपैयाँदेखि ६ सय ७५ रुपैयाँमा विक्री भइरहेको स्पोर्ट यूनिभर्सका किसोर कुमार जोशीले जानकारी दिए । यस्तै ठूलादेखि वृद्धासम्मले गुणस्तर अनुसार ९ सय ५० रुपैयाँ देखि १ हजार ५० रुपैयाँसम्ममा जर्सी किन्ने गरेको उनले बताए ।

प्रशिद्ध तेक्वान्डो खेलाडी बिष्टको सोचमा रिकेश श्रेष्ठ र जोशी गरी ३ जनाको पार्टनरसिपमा ५ वर्ष अघि स्पोर्टस् यूनिभर्सको सुरुवात भएको हो ।

खेल सुरु हुने दिन नजिकिएसँगै जर्सीको विक्री बढ्ने क्रममा रहेको उनले बताए । वल्र्डकपको दिनसम्म जर्सीको मूल्य त्यसको माग अनुसार बढेर १ हजार ४ सय ५० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।

उनले पछिल्लो समय ट्याक्स बढेकै कारण जर्सीकोम मूल्य बढेको बताए । ४ वर्ष अघि वल्डकपको अन्त्यसम्म जर्सीको मूल्य १ हजार २ सय ५० रुपैयाँमा कायम भए पनि यो वर्ष ट्याक्सका कारण वल्र्डकपको मुखमा पुग्दासम्म यसको मूल्य धेरै हुने अनुमान गरे ।

पछिल्लो समय किराना पसलदेखि अनलाईन सपिङमा पनि जर्सी पाउने भएका कारण यो वर्ष जर्सीको व्यवसाय अघिल्लो वल्र्डकपको भन्दा घटेको जोशीले बताए ।

‘पहिले यो समयमा एक छिन बस्न पाइदैन थियो, भिडमभिड हुन्थ्यो, अहिले फाट्टफुट् मात्र आउने गरेका छन्,’ उनले भने ।

वल्र्डकपका समयमा अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायतका देशहरुको जर्सीको बढी माग हुने गरेको उनले जानकारी दिए ।

यस्तै यो पटक डेकोरेशनका लागि भनी ३२ वल्र्डकप देशहरुको झण्डा सामिल गरिएको धोजाहरु राखिएको छ । स्पोर्ट यूपनिभर्सले फेसबुक मार्फत अर्डर अनुसार पनि जर्सी बेच्ने गरेको उनले बताए ।

यो वर्ष अघिल्लो वल्र्डकपको भन्दा २ गुणा बढी व्यापार गर्ने लक्ष्य बोकेको उनले बताए । यहाँका जर्सीहरु बिराटनगर, चितवन, महेन्द्रनगर, डडेलधुरा लगायतका जिल्लामा समेत जाने गरेको छ ।

वल्डकपको समयमा नेपालभित्र मात्र नभई नेपाल बाहिर पनि जर्सीको माग हुने गरेको उनले बताए । नेपालबाटै जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशहरुका नेपालीहरुले अर्डर गर्ने गरेको उनले जानकारी दिए । यसरी आएका अर्डर कुरियर मार्फत विदेश पठाइने गरेको उनले बताए ।

यो वर्ष ३ हजार भन्दा बढी जर्सी विक्री हुने अनुमान गरिएको जोशीले बताए ।

यहाँ आउने ग्राहकहरुले एक जना आए पनि परिवारकै लागि जर्सी किन्ने गरेको बताए । अहिले जर्सी फेसनको रुपमा रहेको र फेसबुकमा फोटो खिचेर हाल्नका लागि मात्र भए पनि मानिसहरुले किन्ने गरेको उनले बताए ।

यस्तै त्रिपुरेश्वरस्थित भाटभटिनीमा ५ सय २५ रुपैयाँदेखि ५ सय ४५ रुपैयाँसम्ममा सबै उमेर समुहका ब्यक्तिहरुको लागि जर्सी उपलब्ध रहेका ब्रान्च म्यानेजर सबिन बेन्जनकारले जानकारी दिए ।

दिनको न्यूनतम १५ जोर जर्सी विक्री हुने गरेको सो भाटभटिनीमा अहिले १ सय जोर जर्सी विक्रीका लागि राखिएको उनले बताए ।

‘हाम्रो ब्रान्च सबैभन्दा सानो हो, त्यसैले १ हजार जोर जर्सी बेच्ने लक्ष्य छ,’ उनले भने ।

१५ वटा ब्रान्च रहेको भाटभटिनीले ५० देखि ६० हजार जर्सी बेच्ने अनुमान गरिएको उनले बताए ।

यस्तै नयाँ बानेश्वरमा रहेको श्रीनगर फेसनले ८ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा जर्सी विक्री गर्दै आएको संचालक अर्जुन घिमिरेले जानकारी दिए ।

‘यो बर्ष कर बढेका कारण पहिलाको तुलनामा अलि महंगो भएकाले व्यापार धेरै राम्रो हुन सकेको छैन, ’ उनले भने ।

पछिल्लो समय किराना पसलदेखि फुटपाथका सबैले जर्सी बेच्ने भएका कारण पनि यसको व्यापार पहिले जस्तो हुन नसकेको घिमिरेको भनाइ छ ।

अघिल्लो वर्ष ४ सय पिस जर्सी विक्री हुने गरेकोमा यो पटक १ सय पिस पनि विक्री हुने हो कि हैन भन्ने त्रासमा उनी छन् ।

यस्तै प्राप्ती स्टोर्सका व्यवसायी केशब आचार्यले ७ सय रुपैयाँदेखि १ हजार १ सय रुपैयाँसम्ममा जर्सी विक्री गर्दै आइरहेका छन् । ७० पिस जर्सी विक्रीका लागि राखेका उनले दिनमा १० पिस बेच्ने गरेको बताए ।


क्लिकमान्डु