बीरगन्ज र काठमाडौंका जग्गा कारोबारी डुबे, मध्यतराईमा घर बनाउने लहर




काठमाडौं । यो बर्ष काठमाडौं उपत्यका र बीरगन्ज क्षेत्रका जग्गा कारोबारीलाई ठूलो धक्का लागेको छ । यी दुबै क्षेत्रमा घरजग्गा कारोबार संख्या र राजस्व रकम दुबै उल्लेख्य रुपमा घटेकोले सो ब्यवसायमा संलग्न ब्यवसायी समस्यामा परेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको छ महिना (साउनदेखि पुस) सम्मको तथ्यांकले यस्तो देखाएको हो । यो वर्ष उपत्यकामा जग्गाको कारोबार २९.२४ प्रतिशतले घटेको छ । सो अवधिमा ६२ हजार २२२ पटक जग्गाको कारोबार भएको छ ।

गत वर्षको सोही अबधिमा काठमाडौं उपत्यकामा ११२.४८ प्रतिशतले जग्गाको कारोबार बढेको थियो । गत वर्षको सो अवधिमा ८७ हजार ९ सय ३७ पटक जग्गाको कारोबार भएको थियो ।

विराटनगर क्षेत्रमा भने यो वर्ष जग्गाको कारोबार करीब स्थीर छ । राष्ट्र बैंकका अनुसार गत बर्षको सोही अवधिको तुलनामा चालु आर्थिक बर्षको ६ महिनामा १.२२ प्रतिशतले जग्गा कारोबार संख्या बढेको छ । गत वर्ष ३०.२४ प्रतिशतले जग्गाको कारोबार बढेको थियो ।

गत साउनदेखि पुस महिनासम्म जग्गा ७७ हजार १ सय ७७ कारोबार भएको हो । गत बर्षको सोही अवधिमा ७६ हजार २४६ वटा कारोबार भएको थियो ।

जनकपुर क्षेत्रमा पनि जग्गाको कारोबार भने घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा १००.७१ प्रतिशतले बढेको सो क्षेत्रको जग्गा कारोबार चालु आर्थिक बर्षको सोही अवधिमा ९.५२ प्रतिशतले घटेको छ ।

गत बर्षको ६ महिनामा जनकपूर क्षेत्रमा ४४ हजार २५१ वटा जग्गाको कारोबार भएको थियो भने चालु आर्थिक बर्षको सोही अवधिमा ४० हजार ३८ कारोबार मात्रै भएको छ ।

बीरगन्ज क्षेत्रमा जग्गाको कारोबार करीब आधा घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा १५१.९३ प्रतिशतले बढेको सो क्षेत्रको जग्गा कारोबार चालु आर्थिक बर्षको सोही अवधिमा ५३.८३ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्षको ६ महिनाम बीरगन्ज क्षेत्रमा ७१ हजार ८७२ वटा कारोबार भएकोमा चालु आर्थिक बर्षको ६ महिनामा ३३ हजार १८१ वटा कारोबार मात्रै भएको छ ।

पोखरा क्षेत्रमा पनि जग्गाको कारोबार घटेको छ । गत बर्षको ६ महिनामा २०.४२ प्रतिशतले बढेको सो क्षेत्रको जग्गा कारोबार संख्या चालु आर्थिक बर्षको सोही अवधिमा १६.७९ प्रतिशतले घटेको छ । गत बर्षको ६ महिनामा २६ हजार ६१७ वटा कारोबार भएको पोखरा क्षेत्रमा चालु आर्थिक बर्षको सोही अवधिमा २२ हजार १४९ वटा कारोबार मात्रै भएको छ ।

सिद्धार्थनगर क्षेत्रमा पनि जग्गा कारोबार घटेको छ । गत बर्षको ६ महिनामा १८.३६ प्रतिशतले बढेको सो क्षेत्रको जग्गा कारोबार चालु आर्थिक बर्षको ६ महिनामा ३.१६ प्रतिशतले घटेको छ ।

सिद्धार्थनगर क्षेत्रमा गत आर्थिक बर्षको ६ महिनामा ५४ हजार २८९ वटा जग्गाको कारोबार भएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा ५२ हजार ५७५ वटा कारोबार मात्रै भएको छ ।

नेपालगन्ज क्षेत्रमा पनि जग्गाको कारोबार घटेको छ । गत आर्थिक बर्षको ६ महिनामा ४१.४८ प्रतिशतले बढको सो क्षेत्रको जग्गा कारोबार चालु आर्थिक बर्षको सोही अवधिमा १५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको छ महिनामा नेपालगन्ज क्षेत्रमा ३९ हजार ४७ वटा जग्गाको कारोबार भएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा ३३ हजार १८१ वटा मात्रै कारोबार भएको छ ।

धनगढी क्षेत्रमा जग्गा कारोबार गर्नेहरु पनि यो बर्ष डुबेका छन् । गत आर्थिक बर्षको ६ महिनामा २०.२९ प्रतिशतले बढेको सो क्षेत्रको जग्गा कारोबार चालु आर्थिक बर्षको सोही अवधिमा ३७.३४ प्रतिशतले घटेको छ ।

धनगढी क्षेत्रमा गत आर्थिक बर्षको ६ महिनामा १४ हजार ३६८ वटा जग्गाको कारोबार भएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा ९ हजार वटा कारोबार मात्रै भएको छ ।

मध्यतराईमा घर बनाउने लहर
चालु आर्थिक बर्षमा मध्यतराई क्षेत्रमा घर बनाउने लहरै चलेको तथ्यांकले देखाएको छ । यद्यपि काठमाडौं उपत्यकामा पनि घर बनाउनेको संख्या भने उल्लेख्य रुपमा बढेको छ ।

काठमाडौं उपत्यकामा घर/भवन स्थायी नक्सापासको संख्या गत बर्षकोभन्दा १०५ प्रतिशतले बढेर १२ हजार ९५८ पुगेको छ । विराटनगर क्षेत्रमा भने गत बर्षको तुलनामा १२.२२ प्रतिशतले घटेर घर/भवन स्थायी नक्सापासको संख्या २ हजार ९३१ मा सिमति भएको छ ।

जनकपूर क्षेत्रमा घर/भवन स्थायी नक्सापासको संख्या उल्लेख्य रुपमा बढेको छ । सो क्षेत्रमा गत बर्षको सोही अवधिको तुलनामा चालु आर्थिक बर्षमा यस्तो संख्या २५६.२९ प्रतिशतले बढेर ११९० पुगेको छ । बीरगन्ज क्षेत्रमा गत बर्षको तुलनामा घर/भवन स्थायी नक्सापासको संख्या २४.२२ प्रतिशतले बढेर २ हजार ६९३ पुगेको छ ।

पोखरा क्षेत्रमा पनि घर/भवन स्थायी नक्सापासको संख्या १३.४६ प्रतिशतले बढेर ३ हजार ६२४ पुगेको छ । सिद्धार्थनगर क्षेत्रमा घर/भवन स्थायी नक्सापासको संख्या १६.६५ प्रतिशतले बढेर ५ हजार ७८० पुगेको छ ।

नेपालगन्ज क्षेत्रमा घर/भवन स्थायी नक्सापासको संख्या ३.४४ प्रतिशतले घटेर १ हजार २६५ मा सिमित भएको छ । यस्तै धनगढी क्षेत्रमा भने घर/भवन स्थायी नक्सापासको संख्या उल्लेख्य रुपमा घटेको छ । धनगढी क्षेत्रमा घर/भवन स्थायी नक्सापासको संख्या ४०.७६ प्रतिशतले घटेर ७०२ मा सिमित भएको छ ।


क्लिकमान्डु