देश विकास गर्ने जिम्मा बामदेव गौतमलाई
काठमाडौं । सरकारले देशको विकास गर्ने जिम्मा वामदेव गौतमलाई दिने भएको छ । बर्दियाबाट नेपाली काँग्रेसका नेता सञ्जय गौतमसँग पराजित भएका गौतमलाई उनकै इच्छाअनुसार अधिकार सम्पन्न विकास प्राधिकरणको प्रमुख बनाउने तयारी गरिएको छ ।
उक्त प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहनेगरी आवश्यक तयारी गरिएको छ । उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई प्राधिकरणको प्रमुख बनाउने व्यवस्थासहित प्राधिकरण निर्माणको तयारी गरिएको छ ।
पटक–पटक उपप्रधानमन्त्री भइसकेका र निर्वाचनमा पराजित भएपछि संघीय संसद्मा समेत नरहेका गौतमलाई उक्त प्राधिकरणको जिम्मा दिने विषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड समेत सकारात्मक छन् ।
नेकपाका सचिवालय सदस्य रहेका गौतमले नेपालको विकास निर्माणका बारेमा केही समय पहिले पुस्तक समेत प्रकाशित गरीसकेका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा समेत आफूलाई विकास निर्माणको काम गर्ने जिम्मा दिन आग्रह गर्दै आएका छन् ।
सरकारले गठन आदेशका आधारमा सो संस्था स्थापना गर्न लागेको छ । पुनः निर्माण प्राधिकरणले गर्दै आएको कामलाई समेत सोही प्राधिकरणले हेर्ने गरी तयारी गरिएको छ ।
विकास निर्माणका काममा भइरहेको ढिलाई तथा ठेकेदार परिचालनमा देखिएको समस्या समसया समेत समाधान गर्ने लक्ष्यका साथ उक्त प्राधिकरण स्थापना गर्न लागिएको हो ।
प्राधिकरणले राष्ट्रिय गौरवका तथा प्रमुख प्राथमिकता प्राप्त आयोजनालाई समयमै सम्पन्न गर्न सबै प्रकारको साधन र स्रोतको परिचालन गर्नेछ ।
कूल २१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये ४ वटा आयोजनाको मात्रै प्रगति राम्रो रहेको छ । अन्य आयोजनाको प्रगति भने नकारात्मक रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य हासिल गर्नका लागि अधिकार सम्पन्न प्राधिकरण गठनको तयारी गरिएको हो ।
प्राधिकरणलाई नै विकास निर्माणको थिंक ट्यांक समेत बनाउने सरकारको तयारी छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा निर्माण कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।