बजेट बनाउन ढोका थुनेर रातभर मन्त्रालयमै बसे अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बजेट बनाउन रातभर मन्त्रालयमै बसेका छन् । आइतबार राति उनी बजेट निर्माणमा संलग्न जम्बो टिमसहित मन्त्रालयमै बसेका हुन् ।

‘आइतबारदेखि हामीलाई पनि बाहिर निस्कन दिइएको छैन,’ मन्त्री खतिवडाका स्वकिय सचिव तुलसीराम मैनालीले क्लिकमाण्डूसँग भने, ‘मन्त्रीज्यूसँगै बजेट निर्माणमा संलग्न करिब २ दर्जन कर्मचारी मन्त्रालयमै सुत्यौं ।’

आइतबारसम्म मन्त्रालयका कर्मचारीलाई सहजै आवतजावत गर्न दिए पनि सोमबारदेखि भने निकै कडाइ गरिएको मैनालीले जानकारी दिए ।

‘बजेट निर्माणमा संलग्न कर्मचारीलाई बाहिर निस्किन दिइएको छैन भने बाहिरबाट आउनेहरुलाई पनि प्रवेश निषेध गरिएको छ,’ स्वकिय सचिब मैनालीले भने, ‘हामीलाई फोनमा धेरै कुरा गर्नसमेत दिइएको छैन ।’

बजेट निर्माणमा मन्त्री खतिवडाले बजेट महाशाखा प्रमुख पुडाशैनी र आफ्ना छोरी ज्वाइँसमेत रहेका सल्लाहकार खरेललाई बढी सक्रिय बनाएका छन् ।

बजेट निर्माण करिब सकिएको छ । करका दरहरु भने अझै फाइनल नभइसकेको मैनालीले जानकारी दिए ।

सोमबार राति पनि अर्थमन्त्रीसहितको टोली मन्त्रालयमै बस्ने उनको भनाइ छ ।

मन्त्री खतिवडासँगै अर्थसचिव राजन खनाल, राजस्व सचिव शिशिर ढुंगाना, बजेट महाशाखा प्रमुख रामशरण पुडाशैनी, बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख र आर्थिक सल्लाहकार डा. रामशरण खरेललगायत बजेट निर्माणमा अधिकारीहरु मन्त्रालयमै सुतेका हुन् ।

केही दिनयतादेखि मन्त्रालयका ढोका थुनेर बजेट तयार गरिँदै आएको छ । ३/४ दिन अघिदेखि खतिवडा क्यान्टिङको खाना खाएर राति अबेर (१२/१ बजे) सम्म मन्त्रालयमै बसेर बजेट बनाउँदै आएका थिए ।

बजेट निर्माणको व्यस्तताले गर्दा अर्थ मन्त्रालयमा कडाइ गरिएको हो । त्यतिमात्रै होइन, सूचनाहरु चुहावट हुन नदिन कर्मचारीहरुको बाहिरि सम्पर्कमा पनि कडाइ गरिएकोछ ।

अर्थ मन्त्रालयका ४ वटा ढोकामध्ये ३ वटा ढोका पूर्णरुपमा बन्द गरिएको छ । पछाडिपटिको ढोकामा सुरक्षाकर्मी राखिएको छ । सुरक्षाकर्मीले सम्बन्धीत कर्मचारीलाई बाहेक अरु कसैलाई पनि छिर्न दिइएको छैन ।

अघिल्ला वर्षहरुमा बजेट महाशाखामा मात्रै प्रवेश निषेध गरिन्थ्यो । यो पटक भने अर्थमन्त्री खतिवडाको निर्देशनमा मन्त्रालय प्रवेशमै कडाइ गरिएको मन्त्रालयको ढोकामा खटिएका सुरक्षाकर्मीले जानकारी दिए ।

‘कसैलाई पनि भित्र छिर्न नदिनू भन्ने आदेश छ,’ ती सुरक्षाकर्मीले भने ।

आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट बनाउँदैछ । नेपालको इतिहासमै पहिलोपटक बामपन्थी दलले दुईतिहाई मतका साथ सरकार बनाएकाले आगामी बजेट वितगको भन्दा केही फरक हुने अपेक्षा गरिएको छ ।

बजेटमा के छ ?

यद्यपि यो बजेटमा सरकारले चुनाबी घोषणापत्रमा उल्लेख गरेजस्तो वृद्धभत्ता बढाएर ५ हजार रुपैयाँ नपुर्याउने बजेट निर्माणमा संलग्न अधिकारीहरु बताउँछन् । सामाजिक सुरक्षालाई बीमासँग जोडेर बजेटमा नयाँ कार्यक्रमहरु ल्याइने छ । अर्थमन्त्रीले बजेटमा लघु बीमालाई विशेष प्राथमिकतामा राखेका छन् ।

घरजग्गामा कडाइ

अर्थमन्त्री खतिवडाले घरजग्गा प्लटिङ गरी बेच्ने काम नियन्त्रण गर्न कडा नीति अबलम्बन गर्दैछन् । घरजग्गाको रजिस्टेशन शुल्क बढाउने, कारोबार गर्दा बढी कर असूल्ने र एउटा जग्गा १ वर्षमा १/२ पटकभन्दा बढी किनबेच गर्न नपाइने लगायतका कडाइ गर्दैछन् ।


पुष्प दुलाल