काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने !



काठमाडौं । काठमाडौँ उपत्यकामा निर्माण गरिने केवलकारको भाडा नेपाली यात्रुलाई ४० रुपैयाँ लाग्ने भएको छ ।

केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएको फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा ५ वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने दावी गरेको छ ।

उसले भाडा दर समेत सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठलाई बुधबार बुझाएको प्रतिवेदनमा काठमाडौ उपत्यकामा निर्माण हुने केवलकारको भाडा एक जना यात्रुका लागि ४० रुपैयाँ लाग्ने छ ।

‘जुनसुकै स्टेशनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिए पनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ’ मन्त्री महासेठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ । यस्तै विदेशी नागरिकलाई भने १५० रुपैयाँ लाग्नेछ ।

यस्तो छ केवलकारको रुट

काठमाडौँ उपत्यकाभित्र केवलकारको विभिन्न रुट तय गरिएको छ । त्यसमा गङ्गबु–बालाजु–सोह्रखुट्टे–कालीमाटी बल्खु–त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम गरिनेछ ।

यस्तै कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ । लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ ।

ब्लूलाइन केबलकार सेवा विष्णुमतिबाट प्रारम्भ भई हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भण्डारखाल–चाबहिलहुँदै बौद्धनाथमा टुंगिनेछ ।

कालिका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डे सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको बताउछन् ।

विश्व बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकले काठमाडौँ उपत्यका केबलकार परियोजनामा लगानी गर्ने इच्छा देखाएका छन् ।

फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत ३ करोड ४० लाख रुपैयाँ खर्च गरेर तयार पारेको काठमाडौँ उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन सरकारलाई हन्तान्तरण गरेको हो ।

केबलकार सञ्चालनका लागि कम्तिमा १५ अर्ब रुपैयाँ खर्च लाग्ने अध्ययनले देखाएको छ ।


पुष्प दुलाल