नौ वटा नयाँ जीबन बीमा कम्पनीः संजाल विस्तारमा यसरी मारे छलाङ




काठमाडौं । बीमा समितिको ५० बर्ष पुगेको उपलक्षमा आयोजित विशेष कार्यक्रममा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले नयाँ बीमा कम्पनीको प्रवेशपछि बीमा क्षेत्रको दायरा बढेको बताएका थिए ।

छ महिना अगाडि बीमा गर्ने नेपालीको संख्या कूल जनसंख्याको करिब ७ प्रतिशत मात्रै रहेकोमा अहिले यो संख्या बढेर करिब १० प्रतिशत पुगेको उनले बताए । उनको आशय नयाँ कम्पनीको प्रवेशपछि बीमाको दायरा र क्षेत्र बढेको भन्ने थियो ।

बजारमा नयाँ कम्पनी थपिएको ६ महिना मात्रै भएको छ । नयाँ कम्पनीहरुमध्ये पनि ब्यवसायमै लागेका ९ वटा जीबन बीमा कम्पनी मात्रै हुन् । ज्योति लाइफ, युनियन लाइफ, आइएमइ लाइफ, सिटिजन लाइफ, रिलायबल लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ नयाँ कम्पनी हुन् । यी कम्पनीले ब्यवसायिक कारोबार सुरु गरेको ६ महिना नाघेको छैन ।

यी सबै कम्पनीले क्षेत्रीय कार्यालय र शाखा उपशाखा गरी ६ महिनाको बीचमा ३०६ वटा संजाल विस्तार गरिसकेका छन् । यो संख्या गत बैशाख मसान्तसम्मको हो ।

बीमाको दायरा बृद्धि गर्नको लागि शाखा विस्तारलाई समितिले पनि प्रोत्साहन गरिरहेको समितिका निर्देशक राजुरमण पौडेल बताउँछन् ।

‘संख्यात्मक बृद्धिले गुणात्मक विकासलाई टेवा पुर्याउछ भन्ने हाम्रो अनुमान हो, अहिले नयाँ वा पुराना कम्पनीले शाखा खोल्नको लागि स्वीकृति माग्न आए हामीले तत्कालै अनुमति दिने गरेका छौं,’ निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने ।

समितिले दिएको जानकारी अनुसार शाखा विस्तारमा ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी आक्रामक ढंगले लागेका छन् । यी दुबै कम्पनीले यसबीचमै ५७÷५७ वटा क्षेत्रीय, शाखा र उपशाखा कार्यालय खोली सकेका छन् ।

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले ५५, सिटिजन लाइफले ३५ र रिलायबल लाइफले ४० वटा क्षेत्रीय, शाखा र उपशाखा कार्यालय खोलेका छन् ।

सन नेपाल लाइफले ३४, प्रभु लाइफले ११ र सानिमा लाइफले १७ वटा क्षेत्रीय, शाखा र उपशाखा कार्यालय खोलिसकेका छन् । रिलायन्स लाइफले शाखा पनि संचालन नगरेको र बीमा शुल्क पनि नउठाएको विवरण समितिले दिएको छ ।

ब्यवसाय विस्तारको लागि शाखा संजाल बृहत हुनुुपर्ने भएकोले शाखा विस्तारमा आक्रामक ढंगले लागिएको युनियन लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार कर्ण बताउँछन् ।

‘हामी नयाँ कम्पनी हौं, पुराना कम्पनीहरुको संजाल यसअघि नै देशब्यापी भइसकेको हुन सक्छ, हाम्रो उपस्थितिको लागि पनि शाखा अनिवार्य भएकोले शाखा विस्तारलाई बढी जोड दिएका हौं,’ कर्णले क्लिकमाण्डूसँग भने ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री ‘आफ्टर सेल्स सर्भिस’ दिनको लागि शाखा अनिवार्य भएकोले यसैमा बढी जोड दिइएको बताउँछन् ।

‘आफूले बीमा गर्ने कम्पनीको शाखा कार्यालय पनि हेर्ने चाहना सर्बसाधारणको हुन्छ, हाम्रो शाखा कस्तो छ, कस्ता मान्छेहरुले सेवा दिइरहेका छन् भन्ने जस्ता जानकारी लिएर बीमा गराउन चाहने ब्यक्तिहरुको सहजताको लागि र आफ्टर सेल्स सर्भिसलाई केन्द्रमा राख्नको लागि शाखा अनिवार्य हुन्छ, यसैकाले लागि हामी छोटो समयमा धेरै शाखा खोलेका हौं,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले क्लिकमाण्डूसँग भने ।

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य जनचेतना फैलाउँदै बीमा गर्नु पर्ने भएकोले शाखा विस्तार अनिवार्य शर्त भएको बताउँछन् ।

‘हामीले जनताको घर दैलोमा नै पुगेर बीमा गराउने हो, यसको लागि हामीलाई शाखा अनिवार्य हुन्छ, बीमाको पहुच बढाउन पनि शाखा चाहिने भएकोले यसलाई पहिलो प्राथमिकता दिएका हौं,’ प्रमुख कार्यकारी अधिकृत अमात्यले क्लिकमाण्डूसँग भने ।

संरचना तयार गरेपछि मात्रै ब्यवसाय विस्तारमा सजिलो हुने भएकोले शाखा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल बताउँछन् ।

‘हामी देशको सबै भूगोलमा जादैछौं, संरचना तयार गरेपछि ब्यवसाय विस्तार र सेवा प्रवाह सजिलो रुपमा गर्न सकिन्छ, त्यसैले शाखा विस्तारलाई पहिलो प्राथमिकतामा राखेका हौं,’ प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

काठमाडौं उपत्यकाको बजार ‘सेचुरेसनमा पुगिसकेको तथा उपत्यका बाहिरका शहरी तथा अर्धसहरी क्षेत्रमा बीमा आवश्यक भएकाले शाखा खोलेर सेवा प्रवाह गर्नको लागि शाखा विस्तारलाई तिब्रता दिइएको रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी बनाउँछन् ।

‘काठमाडौं उपत्यकामा जीबन बीमा ब्यवसाय करिब सेचुरेसनमा पुगिसकेको छ, उपत्यका बाहिरका शहरी तथा अर्धशहरी क्षेत्रमा यसको आवश्यकता छ, जीबन बीमा ब्यवसायमा शाखाको भौतिक उपस्थिति नभइ हुदैन, यसैले हामीले शाखा विस्तारलाई तिब्रता दिएका हौं,’ प्रमुख कार्यकारी अधिकृत लोहनीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु