पोखरामा ३ वर्षमै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने



काठमाडौं । सरकारले पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी तनि वर्ष भित्रसम्पन्न गर्ने लक्ष्य लिएको छ ।

तर, यस अघि विमानस्थल निर्माणको लागि चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङसँग निर्माण सुरु गरेको दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै गर्दा भने एक वर्षको समय बढाएको हो ।

संघीय संसदमा आइतबार पेश गरिएको सार्वजनिक नीति तथा कार्यक्रममा पोखरा विमानस्थलको निर्माणलाई तीव्र पारी पर्यटन प्रवद्र्धनमा जोड दिने उल्लेख छ ।

कूल २२ अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री भएका बेला शिलान्यास गर्नुभएको थियो ।

 

सो विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग एक हजार २०० मिटर लामो ट्याक्सी पार्किङ स्थल, दश हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन् ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण शुरु गरेको चार वर्षभित्रमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सो विमानस्थल अत्यन्तै महत्वपूर्ण हुनेछ ।

सरकारको प्रतिबद्धताअनुसार तोकिएको समयमा विमानस्थल निर्माण कार्य सम्पन्न गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विशेष जोड दिएको बताएको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले निर्माणाधीन विमानस्थलको कामलाई तोकिएको समयमा पूरा गराउन प्राधिकरण लागिपरेको बताए । यसैगरी सरकारले बारामा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीब्रता दिँदा आगामाी पाँच वर्षमा सम्पन्न गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु