घरको गरे १० हजार, जीबन बीमा गरे ५० हजार रुपैयाँ आयकर छुट !




काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कर छुटको माध्यमबाट बीमा क्षेत्रलाई प्रोत्साहन गर्न अर्थमन्त्रालयलाई सुझाव दिएको छ ।

समितिले गार्हस्थ बीमा गर्ने ब्यक्तिलाई आयकरमा बार्षिक १० हजार रुपैयाँ छुट दिन सुझाव दिएको हो । यस्तै जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक ५० हजार रुपैयाँसम्म आयकर छुट दिन समितिले सुझाव दिएको छ ।

‘गार्हस्थ बीमा गर्ने ब्यक्तिलाई बार्षिक १० हजार रुपैयाँ र जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक ५० हजार रुपैयाँ आयकर छुट दिन समितिले सुझाव दिएको छ,’ अर्थमन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

यसअघिदेखि नै जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक २० हजार रुपैयाँ आयकर छुट दिने गरिएको थियो । यस्तो छुट कम भएको भन्दै बीमा कम्पनीहरुले सो सीमा बढाएर कम्तिमा १ लाख रुपैयाँ पुर्याउनु पर्ने माग गर्दै आएका छन् । तर, समितिले भने २० हजार रुपैयाँको बार्षिक आयकर छुटलाई बढाएर ५० हजार रुपैयाँ बनाउनु उपयुक्त हुने भन्दै अर्थमन्त्रालयलाई सुझाव दिएको हो ।

तर गार्हस्थ बीमामा यस्तो छुटको ब्यवस्था यसअघि थिएन । निर्जीबन बीमा ब्यवसायलाई प्रोत्साहन गर्न समितिले यस्तो प्रस्ताव गरेको हो । कर छुटको माध्यमबाट बीमा क्षेत्रलाई प्रोत्साहन गर्न सकिए बीमाको दायरा बृद्धि हुने र लगानीको लागि आवश्यक रकम जुट्न सक्ने बुझाइ समितिको छ ।

समितिले दिएको सुझाव कार्यान्वयन हुने नहुने टुंगो भने बजेटबाट मात्रै लाग्नेछ । सरकारले आगामी आर्थिक बर्षको लागि जेठ १५ गते बजेट ल्याउदैछ । समितिले आयकर छुटको लागि गरेको सुझाव कार्यान्वयन भए आफ्नो घरको बीमा गर्ने घरधनीले बार्षिक १० हजार रुपैयाँ आयकर छुट पाउने छन् । यस्तै जीबन बीमा गर्ने ब्यक्तिहरुले बार्षिक ५० हजार रुपैयाँ आयकर छुन पाउने छन् ।


क्लिकमान्डु