फोहोरको ढंगुरबाट सफा अर्थतन्त्रको सपना देखिरहेकी ‘कवाडीवाली’




काठमाडौं । हामीले फोहोर भनेर फाल्ने गरेको प्लाष्टिकको बोतलबाट दराज र बेञ्च बनाउन सकिन्छ । भान्छाबाट निस्कने फोहोर तथा तरकारीका बोक्राबाट साबुन बनाउन सकिन्छ ।

यो कल्पना मात्रै होइन । अब यथार्थ हो । १० महिना अगाडी मात्रै स्थापना भएको खालिसीसी नामक संस्थाले यस्तै कल्पना सहित नेपाललाई सन् २०३० सम्ममा घरमा उत्पादित फोहोर रिसाईकल (अर्थात पुनः प्रयोगमा) गर्ने विश्वका उत्कृष्ट २० देशकोको सूचिमा पार्न सकिने लक्ष्य लिएको छ ।

कसरी संभव छ नेपाललाई रिसाईकल गर्ने देशको उत्कृष्ट सूचिमा समावेश गर्न ? यही जिज्ञासा लिएर हामी खालिसीसीकी संस्थापक आयुसी केसीलाई भेट्न विशालनगर स्थित उनकै कार्यालयमा पुगेका थियौं ।

हामी खालिसीसीको कार्यालयमा पुग्दा उनी विभिन्न स्थानबाट फोहर संकलनका लागि आएका अर्डर लिनमै व्यस्त थिईन् ।

सबैभन्दा पहिले हामीले उनलाई खालिसीसी के हो ? यसले कसरी काम गर्छ भनेर सोधेका थियौँ ।

‘खालिसिसि घरघरमा आएर कागज,बोतल र फलाम संकलन गर्नेहरुलाई साथमा लिएर स्थापना गरिएको संस्था हो, हामी आवश्यकता र ग्राहकको माग अनुसार घरघरमा पुगेर फोहर संकलन गर्छौ र फोहरलाई वर्गिकरण गरेर रिसाइकलका लागि पठाउँछौं,’ उनले भनिन् ।

खालिसीसीमा अहिले एक सयभन्दा बढि फोहर संकलक आवद्ध छन् । घर वा कार्यालयमा फोहोर जम्मा भएपनि खालिसीसीमा फोन गरे संकलक घरमै पुगेर फोहोर संकलन गर्छन् । संकलन गरेको फोहोरको सम्पूर्ण विवरण पनि टिप्छन् ।

खालिसीसीको बारेमा जानकारी लिईसकेपछि हामीले उनलाई कसरी नेपाललाई १२ बर्षमा रिसाईकलमैत्री देश बनाउन सकिन्छ भनेर जिज्ञासा राखेका थियौ । हाम्रो जिज्ञासालाई सहज रुपमा लिँदै उनी भन्न थालिन ।

‘सजिलो छ, यसका लागि सबैभन्दा पहिले हामीले फोहोर वर्गिकरण गर्न जान्नुपर्छ, फोहर वर्गिकरण गरेपछि रिसाईकल गर्न निकै सजिलो हुन्छ,’ उनले भनिन् ।

कसरी गर्ने त फोहर वर्गिकरण ? हाम्रो प्रश्न थियो ।

‘एउटा घरमा तीन वटा डस्टबिन प्रयोग गर्ने, एउटा डस्टबिनमा भान्छाबाट निस्केको फोहर मात्रै राख्ने, अर्कोमा कागज, प्लास्टिक र बोतल राख्ने अनि तेस्रो डस्टबिनमा पून प्रयोग गर्न नमिल्ने सामाग्री जस्तै सेरामिस्कका भाँडा,स्यानिटरी प्याड जस्ता फोहर राख्ने,’ उनले भनिन् ।

‘यसरी प्रत्येक घरमा फोहोर वर्गिकरण गर्ने हो भने सरकारले ल्याण्डफिल (फोहर विसर्जन गर्ने स्थान) का लागि बर्सेनि नयाँ ठाउँ खोज्ने कष्ट गर्नै पर्दैन,’ उनको भनाइ छ ।

‘मान्छेहरु अहिले उपत्यकामा धुलो धेरै.भयो भनेर कराईरहेका छन्, तर त्यसभन्दा हानिकारक त सरकारले फोहर विर्सजन गर्ने गरेको स्थानबाट आउने ग्याँस र वायु हुन्छ, ल्याण्डफिल साईडबाट उत्र्सजन हुने ग्याँसमा ९० प्रतिशत मिथेन र कार्बनडाईअक्साईडको मात्रा हुन्छ, यी ग्याँसहरुले मानिस दिर्घकालिन र अल्पकालिन रोगको शिकार हुने गरेका छन्,’ उनको भनाइ छ ।

अहिले संसारभर रिसाईकल अर्थात पुनः प्रयोगको लहर छाएको छ । एकपटक प्रयोग भईसकेको सामाग्री पुन प्रयोगमा ल्याएर प्राकृतिक स्रोत जोगाउनुपर्ने वातावरणविदले आवाज उठाउँदै आएका छन् । एक पटक प्रयोग गरिसकेको समाग्री पुन प्रयोगमा ल्याउँदा उत्पादन लागतमा पनि कमि आउने बताईन्छ ।

केसीका अनुसार नेपालमा अहिले थोरै संख्यामा भए पनि रिसाईकल गर्ने कम्पनीहरु छन्, जसले सिसाका बोतल, प्लाष्टिकका सामाग्री र कागज रिसाईकल गर्छन् । अझै पनि नेपालमा संकलित धेरैजसो पुनः प्रयोग गर्न मिल्ने फोहोर भारत निर्यात हुन्छ ।

‘फोहोर वर्गिकरण गरेर नछुट्याउँदा रिसाईकल गर्न समस्या हुन्छ, अहिले ल्याण्डफिल साईडमा रिसाईकल गर्न मिल्ने फोहोर संकलन गर्नेहरुको भिड हुन्छ,’ उनको भनाइ छ ।

फोहोर रिसाईकलको लागि जर्मनी र स्विडेन विश्वमै अग्रणी देश मानिन्छन् । स्विडेनमा घरबाट निस्कने फोहोरको ९९ प्रतिशत फोहोर रिसाईकल हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

‘हामी विदेशकै जस्तो गर्न त सक्दैनौ तर कम्तिमा पनि कागज, बोतल र प्लास्टीक भने रिसाईकल गर्न सक्छौं,’ केसीको विश्वास छ । घरमै फोहोर वर्गिकरण गर्दा रिसाईकल गर्न मात्रै सजिलो नभइ फोहोरबाटै पनि आम्दानी गर्न सकिने उनले बताइन् ।

खालिसीसीले अहिले कागजजन्य फोहोरको ७ रुपैयाँ प्रतिकिलोदेखी १५ रुपैयाँ प्रतिकिलो तिरेर खरिद गर्ने गर्छ । सिसा तथा प्लास्टीक २ रुपैयाँ प्रतिकिलोदेखी १० रुपैयाँ प्रतिकिलोमा खरिद गर्दै आएको छ । त्यस्तै फलामजन्य फोहर भने ५ रुपैयाँ प्रतिकिलोदेखि ९५ रुपैयाँ प्रतिकिलो खरिद गर्ने गरेको छ ।

विद्युतीय फोहर अन्र्तगत पर्ने क्यामेरा, सिडि, कम्प्युटर तथा कम्प्युटरका पाट पुर्जा, तार, मोबाईल तथा मोबाईलका पाट पुर्जा, टेलिभिजन र त्यसका पाट पुर्जाको भने ५ रुपैयाँ प्रतिकिलोदेखी ३ सय ५० रुपैयाँ प्रतिकिलोमा खरिद गर्दै आएको छ ।

अहिले काठमाडौँबाट मात्रै बार्षिक १ हजार १ सय ९० लाख किलो विद्युतीय फोहर उत्पादन हुन्छ । यस मध्येको ३० प्रतिशत मात्रै रिसाईकल गरिन्छ । यसका अलावा काठमाडौँबाट सबैखाले गरी दैनिक ७ हजार किलो फोहर उत्पादन हुन्छ । जसको ७० प्रतिशत हिस्सा रिसाईकल गर्न सकिने भए पनि रिसाईकल गर्न सकिएको छैन ।

पुनः प्रयोग गर्न सकिने फोहोर पनि ल्याण्डफिल साईडमा विसर्जन गर्दा वातावरणमा नराम्रो प्रभाव पर्छ, यस्तो फोहोरले जमिनको उत्पादकत्वमा पनि कमी ल्याउँछ ।

‘भएभरको फोहोर जमिनमा मिसाउँछौं, प्लास्टीक कुहिन कम्मिा पनि ५ हजार बर्ष लाग्छ, यसरी नै फोहोर जमिनमा मिसाउने हो भने हामी कृषि प्रधान भन्दा पनि फोहोर प्रधान देश हुन्छौ,’ केसले चिन्ता ब्यक्त गरिन् ।

रिसाईकल गर्न सकिने फोहोर संकलनको लागि सरकारले थोरै मात्र चासो देखाउने हो भने केही बर्ष भित्रै सरकारले ल्याण्डफिल साईडको लागि सम्झौता गर्नुपर्ने दिनको अन्त हुने केसीको दाबी छ । सरकारले फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न भन्दै फोहोरमैला व्यवस्थापन ऐन २०६८ लागु पनि गरिसकेको छ ।

हाल काठमाडौँमा व्यक्तिगत रुपमा फोहोर संकलन गरिरहेका १३ हजार भन्दा धेरै मान्छेलाई सरकारी संयन्त्रमा ल्याएर रिसाईकल उद्योगसम्म उनीहरुको पहुँच पुर्याउने हो भने मात्रै पनि धेरै फोहोर रिसाईकल गर्न सकिने केसीको ठहर छ ।

घरबाट निस्कने फोहोर हेर्दा थोरै मात्रामा देखिए पनि यसको वातावरणीय प्रभाव भने निकै हानिकारक हुने विज्ञहरु बताउँछन् । रिसाईकल गर्न नसकिने फोहोर तथा रिसाईकलको लागि योग्य नभएको फोहोरबाट उर्जा समेत उत्पादन गर्न सकिन्छ ।

स्विडेनले सन् २०१६ मा २.३ मिलियन टन फोहोर बालेर विद्युत उत्पादन गरेको थियो । उर्जा उत्पादन गरिसकेपछि कोइलाको रुपमा बचेको फोहोरको तौल कुल फोहोरको १५ प्रतिशत थियो । यति मात्रै होइन स्विडेनले सन् २०१५ मा नर्वे, बेलायत तथा आयरल्याण्डबाट करिब २.३ मिलियन टन फोहोर आयात गरेको थियो ।

‘अहिले एउटा सानो पसलले महिनामा कम्तिमा ४ हजार रुपैँया बराबरको कागज र बोतलजन्य फोहोर उत्पादन गर्छन, तपाई हिसाब गर्न सक्नुहुन्छ काठमाडौँमा कति पसल छन् ?’ केसीले उल्टै प्रश्न गरिन् । उनले यही प्रश्नमार्फत फोहोरको अर्थतन्त्रतर्फ पनि संकेत गरिन् ।

‘व्यवस्थित रुपमा रिसाईकल गर्न सकेमा फोहोर उत्पादन गर्नेदेखि रिसाईकल गर्नेसम्मले पैसा आम्दानी गर्न सक्छन्, देशमै नयाँ रोजगारीको अवसर प्राप्त हुन्छ, सरकारले राजस्व पनि पाउँछ,’ उनको भनाइ छ ।

केसी रिसाईकललाई ठूलै उद्योगको रुपमा खडा गर्न सकिने जिकिर गर्छिन् ।

‘विदेशबाट सामान वा कच्चा पदार्थ आयात गरेर अर्बौैँ रकम बाहिर पठाउनु भन्दा त रिसाईकल गर्दा पैसा पनि देशमै रहने, रोजगारी पनि देशमै, सामान उत्पादन पनि देशमै । गज्जब हुँदैन त ?’ यसो भनिरहँदा केसीको मुहारमा अनौठो मुस्कान र खुशी छाएको थियो ।

तर चुनौति पनि उत्तिकै छन् । फोहोर वर्गिकरण गर्नुपर्छ र फोहोर पनि पुनः प्रयोग गर्न सकिन्छ भनेर विद्यालय तहदेखि नै सिकाउनुपर्नेमा केसीको जोड छ ।

‘यो एउटा कल्चर हो, कल्चर निर्माण गर्न केही समय अवश्य लाग्छ । हामीले फोहोर डस्टबीनमा फाल्ने मात्रै सिकायौँ तर अब कुन फोहोर कुन डस्टबीनमा फाल्ने त्यो सिकाउनुपर्छ,’ उनको भनाइ छ ।

यसका लागि सरकार र वातावरणीय क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरु सक्रिय भएर लाग्नुपर्ने उनको भनाइ छ । रिसाईकल उद्योग र रिसाईकलबाट उत्पादीत सामाग्रीमा कर छुट गर्न सके रिसाईकल उद्योगमा लगानी गर्न युवाहरु तयार रहेको पनि बताईन् ।

भान्छाबाट निस्कने फोहोरलाई कम्पोष्टमलको रुपमा प्रयोग गर्दा केमिकल मल भन्दा सस्तो पनि पर्न जान्छ र स्वास्थयका दृष्टिले पनि लाभदायी हुन्छ । कम्पोष्ट मलको प्रयोगले जमिनको उत्पादकत्वमा पनि कुनै असर पर्दैन ।

‘फाहोरलाई हामी अर्गानिक, ड्राई र इलोक्ट्रेनिक गरि तीन भागमा बाँड्न सक्छौं,’ उनले भनिन् ।

‘खालिसीसीले अहिले रिगंरोड भित्र र आसपासका क्षेत्रमा काम गर्छ ।

‘हामी फोहोरलाई प्रत्यक्ष अर्थतन्त्रसँग जोड्दै काम गर्न योजनामा छौं, फोहोर उत्पादन गर्नेले पनि आम्दानी गरोस, फोहोर संकलन गर्नेले पनि आम्दानी गरोस र फोहोर रिसाईकल गर्नेले पनि आम्दानी गरोस् सोझै भन्दा तपाईले उत्पादन गरेको फोहोरको पनि पैसा पाईन्छ र त्यही फोहोरबाट बनेको नयाँ सामान फेरि तपाईले किन्नु पर्छ,’ केसीले भनिन् ।

फोहोर संकलनका चुनौति के कस्ता छन त ?
अहिले काठमाडौँमा ६५ देखि ७० वटा फोहोर संकलन गर्ने संस्थाहरु छन् । ती संस्थाले घरबाट फोहोर संकल गरेर ल्याण्डफिल साईडमै लगेर फाल्छन् । ती संकलकलाई मासिक पैसा तिर्नु पर्छ ।

तर, रिर्साइकल उद्योगले उल्टै तपाईलाई फोहोरको पैसा दिन्छन् । मात्र तपाईले फोहोर छुट्याएर राख्नुपर्छ । हाल फोहोर संकलन गरिरहेकै संस्थालाई रिसाईकल योग्य फोहोर संकलन गर्नतर्फ केन्द्रीत गर्ने हो भने पनि केही हदसम्म ल्याडफिल साईडको निर्भरता कम हुने केसीको अपेक्षा छ ।

फोब्र्स म्यागजिनका अनुसार जर्मनको फ्रयाङकपोर्टमा मानिसहरु प्लाष्टिक र कागज संकलनकै लागि दिनभर सडक र घरघर डुल्ने गर्छन् । यसरी डुलेर संकलन गरेको पैसा उनीहरुको लागि अतिरिक्त कमाइ हो । यसैका लागि अन्य पेशा, ब्यवसायमा लागेकाहरु पनि यो कामका लागेका भेटिन्छन् ।

तर हाल फोहोर संकलन गर्ने संस्थाहरु नै रिर्साइकलप्रति सचेत नभएको केसीको आरोप छ । आफुलाई कवाडीवाली भन्न रुचाउने केसी रिसाईकल अभियानलाई आर्थिक र पर्यावरणीय क्रान्तिसँग जोडेर हेर्न सबैलाई आग्रह गर्छिन् ।


क्लिकमान्डु