एमालेका ४ प्रधानमन्त्री र एक राष्ट्रपति बने, तर अझै खुलेन दासढुंगा दुर्घटनाको तथ्य



काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सवारी दुर्घटनामा निधन भएको आज २५ वर्ष पूरा भएको छ ।

केहीले सवारी दुर्घटना भनिदिए भने केहीले हत्या भनिरहेका छन् । तर सत्य तथ्यको जानकार रहेका उनीहरुका तत्कालीन चालक अमर लामाको समेत काठमाडौँमा नै गोली हानी हत्या गरियो ।

मदन आश्रितको हत्या हो वा दुर्घटना बताउन सक्ने एउटा मात्रै मान्छे थिए लामा । तर उनको हत्यापछि मदन आश्रितको हत्या भएको थियो वा सवारी दुर्घटनामा नै उनीहरु मारिएका थिए त्यसबारे जानकारी दिने व्यक्ति कोही पनि छैनन् ।

मदन भण्डारी र जीवराज आश्रितको नाममा एमालेले विगत २५ वर्षदेखि नेपालमा राजनीति गरिरहेको छ । जनताको बहुदलीय जनवादको नाममा उसले जारी राखेको राजनीति यस पटक राम्रगरी सफल पनि भएको छ । तर हत्यारा को थिए वा सवारी दुर्घटना नै भएको थियो भन्ने बारेमा एमाले नेतृत्वले आज सम्म केही बताउन सकेको छैन ।

विसं २०५० साल जेठ ३ गते चितवनको दास ढुंगामा भएको दुर्घटनामा मदन र आश्रित मारिएका थिए ।

मदन भण्डारी मारिएपछि मनमोहन अधिकारी प्रधानमन्त्री भए । उनको कार्यकालमा गृहमन्त्री भएका थिए वर्तमान प्रधानमन्त्री केपी ओली । उनले सुरु सुरुमा त मदन आश्रितको हत्याकाण्ठका बारेमा सत्य तथ्य पत्ता लगाउने बताएका थिए । तर पछि उनको घोषणा केवल घोषणमा सिमित भयो ।

मनमोहन अधिकारीपछि माधवकुमार नेपाल, भलनाथ खनाल, केपी शर्मा ओली लगातार प्रधानमन्त्री भए । पुनः प्रधानमन्त्री भएका छन् केपी ओली प्रधानमन्त्री भएका छन् ।

मदन पत्नी विद्यादेवी भण्डारी एमालेको उपाध्यक्ष समेत भईन । यतिबेला उनी राष्ट्रप्रमुखका रुपमा छिन् । उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी छिन् । तर मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो वा समान्य दुर्घटना नै थियो भन्ने बारेमा पत्ता लाग्न सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमाले प्रमुख दलको रुपमा स्थापित भएको छ । एमाले र माओवादी केन्द्रकाबीचमा एकता पनि आजै हुँदै छ ।

एमाले र माओवादीले आज संयुक्त रुपमा मदन आश्रित स्मृति दिवस संयुक्त रुपमा मनाए । तर स्मृति दिवसमा मदन आश्रितको हत्या थियो कि दुर्घटना थियो सो पत्ता लगाउने बारेमा एमालेका नेताले केही बताएनन् ।

माओवादीले विगतमा मदन आश्रितको हत्या भएको भन्दै हत्यारा पत्ता लगाउने बताउँदै आएको थियो । तर आजको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले समेत केही बताएनन् ।

एमालेका नेता तथा कार्यकर्ता मदन आश्रितको हत्या नै भएको बताउँछन् । तर पार्टी नेतृत्वले सो बारेमा केही नबताएको भन्दै उनीहरु आक्रोशित पनि छन् ।

तर नेपालमा फरक तवरले कम्युनिस्ट राजनीतिलाई अगाडि बढाएका मदन भण्डारी र जीवराज आश्रितको कम उमेरमा नै हत्या भएको थियो भन्ने बारेमा आम जसो नेपाली सहमत छन् ।

एमालेले विगतदेखि नै मदन भण्डारीको बारेमा राजनीति गरेको भएपनि हत्या वा दुर्घटनाका बारेमा केही बताउन सकेको छैन । यतिबेला प्रधानमन्त्री छन् ओली । राष्ट्रपति भण्डारी छिन् । के मदन आश्रितको हत्या वा दुर्घटना पत्ता लाग्ला त ? प्रश्न अझै संगीन नै रहेको छ ।


पुष्प दुलाल