आज सगरमाथाको शिखरमा इतिहास कायम हुने




काठमाडौँ । मौसमले साथ दिए सगरमाथा आरोहणमा आज र भोलि नयाँ इतिहास कायम हुने देखिएको छ ।

सगरमाथा आधार शिविरमा रहेका सरकारी अधिकारीहरुका अनुसार मौसमले साथ दिएको खण्डमा आज र भोलि मंगलबार एकै पटक शिखरमा १५० जना आरोही पुग्ने विश्वास गरिएको छ ।

आइतबार अपरान्ह ८ शेर्पा सगरमाथाको शिखरमा पुगेर यस वर्षको आरोहणको उद्घाटन गरेका छन् । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको सगरमाथाको आधार शिविरमा रहेका सरकारी अधिकारीले जानकारी दिएका हुन् ।

आरोहण सुरु भएपनि मौसम भने सोचे जति राम्रो नभएको बताइएको छ । तर आज मौसम सफा हुने विश्वास गरिएको छ ।

रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको बताए ।

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही आधार शिविरमा नै प्रतिक्षारत छन् । वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेका छन् ।

आज र भोलि मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए ।

‘धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ ’ उनले भने ।

आरोहणका लागि मौसम अनुकूल हुने अपेक्षा गरिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठको भनाइ छ ।

सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका छन् ।

हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् ।

उनीहरू दिउँसो आरोहण सफल गरी अहिले फर्कने क्रममा रहेको कम्पनीका प्रबन्ध निर्देशक ईश्वरी पौडलले बताए । गतवर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भएपनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने उनले उल्लेख गरे ।


क्लिकमान्डु