पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता




काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्कसँग सम्झौता नवीकरण गरेको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस होमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्यले हस्ताक्षर गरेका छन् ।

मञ्चले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ । डिस होम विगत ८ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ ।

सम्झौतासँगै अवार्डको नाम अनुसार डिस होमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ हुनेछ । सम्झौतापछि डिस होमका सिइओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुशीको कुरा रहेको बताए । यस्तै मत्तचका अध्यक्ष महेश आचार्यले अवार्ड ग्रो हुदै गएको अवस्थामा डिस होमसँगको सहकार्य पनि ग्रो हुदै गएको बताए ।

यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङको लक्की ५ विजेता गरी ३३ जनाले डिस होमको सेटप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले २ हजारको रिचार्ज कार्ड र सेटप बक्स प्रखान गरिनेछ ।

यसवर्षको अवार्ड आगामी बिहिबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य ४ विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ ।

विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । सो पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।


क्लिकमान्डु