बेलायतको सर्बदलीय संसदीय समिति र मन्त्री नेपाल आउदै, पाइएला त १२ खर्ब क्षतिपूर्ति ?




काठमाडौं । बृटिस गोर्खामाथि बेलायत सरकारले गरेको विभेद विरुद्ध आन्दोलित पूर्वबृटिस गोर्खाको समस्या समाधान गर्न बेलायको सर्बदलीय संसदीय समिति र विदेशमन्त्री नेपाल आउँदैछन् ।

नेपालको संसद सचिवालयको निमन्त्रणमा बेलायती सर्बदलीय संसदीय समिति नेपाल आउँन लागेको हो । यस्तै सोही समिति नेपाल आउँने दिन नै बेलायको एसिया प्यासिफिक क्षेत्र हेर्ने विदेशमन्त्री मार्क फिल्ड पनि नेपाल आउन लागेका हुन् ।

संसदीय समितिमा ६ जना सदस्य छन् । टोलीको नेतृत्व सांसद भिरेन्द्र शर्माले गरेका छन् । शर्माले बृटिस गोर्खा विभाग हेर्ने गरेका छन् । पूर्वअध्यक्ष जेकी डेयल प्राइस स्वास्थ्यमन्त्री बनेपछि शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

सर्बदलीय संसदीय समितिले ६ दिने नेपाल भ्रमण गर्न लागेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । समितिले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत नेपाली उच्च अधिकारीहरुसँग भेटेर बृटिस गोर्खाको समस्या समाधानको पहल गर्नेछ ।

गोर्खा सत्याग्रह संघर्ष समितिले बृटिस गोर्खामाथि विगतमा भएका विभेदको क्षतिपूर्ति दिनुपर्ने भन्दै ससक्त आन्दोलन गरेपछि बेलायती सरकार समस्या समाधानमा सकारात्मक भएको हो । बृटिस गोर्खामाथि भएको विभेदको क्षतिपूर्ति पाउनु पर्ने आफूहरुको माग रहेको समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

‘बेलायत सरकार हाम्रो समस्या समाधान गर्न तयार भएर नेपाल सरकारसँग कुरा गर्न आउँदैछ, नेपाल सरकारले हाम्रो तर्फबाट गम्भीरतापूर्वक कुरा राख्ने हो भने विगतमा हामीमाथि गरिएको विभेदको क्षतिपूर्ति पाउने अबस्था छ, नेपाल सरकारले हाम्रो संवेदनशीलता कति बुझ्छ र कुन रुपमा बेलायत सरकार समक्ष कुरा राख्छ भन्ने कुराले समस्याको समाधान हुने नहुने यकिन गर्छ,’ प्रमुख संयोजक राईले क्लिकमाण्डूसँग भने ।

बेलायत सरकारले बृटिस गोर्खामाथि विगतमा गरेको विभेदको क्षतिपूर्ति दिएमा करिब १२ खर्ब रुपैयाँ पाउने संयोजक राईले बताए ।

समितिले यसअघि नै प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शिर्ष नेता, परराष्ट्रमन्त्री लगायत उच्च सरकारी अधिकारीलाई भेटेर बृटिस गोर्खामाथि भएको विभेदको क्षतिपूर्ति दिलाउने पहल गरिदिन आग्रह गरिसकेको छ ।

बेलायत सरकारले बृटिस गोर्खाको समस्या समाधान गर्न वार्ता गर्ने भन्दै नेपाल सरकारलाई समिति बनाउन आग्रह गरिसकेको छ । तर, नेपाल सरकारले यस्तो समिति बनाइसकेको छैन ।

बेलायती सर्बदलीय समिति र मन्त्री मार्क फिल्ड आजै काठमाडौं आइपुग्दैछन् । तर, यी दुबै टोली बेग्लाबेग्लै नेपाल आउन लागेका हुन् । मन्त्रीको टोली २ दिन काठमाडौंमा रहनेछ । सो टोलीले प्रधानमन्त्री लगायत केही सरकारी उच्च अधिकारी भेट्ने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु