यातायात समितिको बैंक खाता रोक्का, पदाधिकारीको सम्पत्ति छानविन गरिने



काठमाडौं । सिण्डिकेट गर्न पाउनुपर्छ भन्दै सार्वजानिक यातायात ठप्प पार्ने यातायात व्यवसायीको बैंक खाता रोक्का भएको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलको संयोकत्वमा गृह मन्त्रालयमा बसेको विभिन्न निकायका सरकारी अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यातायात समिति तथा महासंघको बैंक खाता रोक्का गर्ने र समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानविन गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । सम्पत्ति सुद्धिकरण विभागले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानविन गर्नेछ ।

सिण्डिकेट हटाउने सरकारको निर्णय विरुद्ध यातायात व्यवसायीहरुले शुक्रबारदेखि सार्वजानिक यातायात ठप्प पारेका थिए ।

व्यवसायीहरुले सार्वजानिक यातायात ठप्प बनाउँदा सर्वसाधारणहरु आवतजावत गर्न पाएका छैनन् । समितिले सार्वजानिक यातायात नचलाएपछि सरकार व्यवसायीमाथि थप कडा बनेको हो ।

यातायात व्यवसायीहरुले कुनैपनि हालतमा सरकारी निर्णय नमान्ने अडान राख्दै आएका छन् भने सरकारले निर्णय कार्यान्वयन गरेरै छाड्ने अडान राख्दै आएको छ ।

यसैबीच सरकारले आज दिउसो यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलालाई रिपोटर्स क्लबबाट पक्राउसमेत गरेको छ ।


पुष्प दुलाल