वातावरण बचाउन काठमाडौंमा वातावरणमैत्री पार्क बनाइने



सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको वातावरणीय प्रभावलाई न्युनिकरण गर्न वातावरणमैत्री पार्क बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले वातावरणमैत्री पार्क बनाउनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

उपत्यकामा बढ्दै गएको वातावरणीय प्रभावलाई न्युनिकरण गर्नका लागि उपत्यकाका विभिन्न स्थानमा वातावरणमैत्री पार्क बनाउन लागिएको प्रधिकरणका शहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

प्राधिकरणले वातावरणमैत्री पार्क बनाउनका लागि क्लाइमेट भेरिविलिटी एक्सपिरेन्स (सीभीइ) अध्ययन प्रक्रिया अगाडि बढाइसकेको छ । सीभीइ अध्ययनका लागि प्राधिकरणले परामर्शदाता कम्पनी छनोट गरिसकेको छ ।

‘वातावरणमैत्री पार्क बनाउन परामर्शदाता कम्पनी छनोट गरिसकेका छौं, कम्पनीले उपत्यकाको वातावरणमा देखिएको प्रभावको अध्ययन गरेर कुन कुन ठाउँमा कतिवटा पार्क बनाउने भन्ने प्रतिवेदन बुझाउने छ,’ खोखालीले क्लिकमाण्डूसँग भने ।

बढ्दो जनसंख्या र शहरीकरणका कारण उपत्यकाको वातावरण परिवर्तन भइरहेको छ । उपत्यकाको वातावरणमा देखिएको प्रभावको वैज्ञानिक अध्ययन हुन सकेको छैन । अहिले उपत्यकामा देखिएको प्रभावको मात्रा भन्न सकिने अवस्था छैन । प्रभावलाई वैज्ञानिक ढंगले बुझ्नका लागि सीभीइ अध्ययन प्रक्रिया अगाडि बढाइएको हो ।

सीभीइ अध्ययन गर्ने कम्पनीले उपत्यकाको विभिन्न स्थानको वातावरणीय प्रभावको वैज्ञानिक अध्ययन गर्नेछ । साथै कम्पनीले वातावरणीय प्रभावलाई न्युनिकारण गर्नका लागि आवश्यक विकल्पहरुको पनि अध्ययन गर्नेछ । छनोट भएको कम्पनीले वातावरणीय प्रभावलाई न्युनिकरण गर्नका लागि आवश्यक विकल्प प्राधिकरणमा पेश गर्नेछ । कम्पनीको प्रतिवेदनका आधारमा प्राधिकरणले वातावरणमैत्री पार्क निर्माणको प्रक्रिया अगाडि बढाउने छ ।

त्यसका लागि प्राधिकरणले सरोकारवाला विभिन्न सरकारी निकायहरुसँग आवश्यक समन्वय गर्नेछ । वन मन्त्रालय, वातावरण विभाग, स्थानीय तहसँगको सहकार्यमा पार्क बनाउने प्रक्रिया अगाडि बढ्ने खोखालीले जानकारी दिए ।


क्लिकमान्डु