उद्योगमन्त्री भन्छन्ः अब नेपालदेखि बंगलादेशसम्मै सुरुङमार्ग




काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन् ।

दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए ।

‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका छौँ, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ,’ मन्त्री यादबले भने ।

नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भैसकेको उल्लेख गरे ।

नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रहिआएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे ।

‘निर्धक्क भएर लगानी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौँ र सबै किसिमको सुरक्षा दिन तयार छौँ,’ लगानीकर्तालाई आश्वस्त पार्न खोज्दै उनले भने ।

उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रहसमेत गरे ।

मन्त्री यादवले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गरे । हाम्रो देश सबैको बजार भएको तर, अन्य देशमा नेपालले बजार खोज्न नसकेको भन्दै उनले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्ने बताए ।

कार्यक्रममा दक्षिण एशियाली मुलुकका १५० जना साना तथा मझौला व्यवसायीको सहभागिता छ । मञ्चले दक्षिण एशियामा व्यापार सहजीकरण तथा विस्तार, पारवहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।

एकदिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।


क्लिकमान्डु