जीबन बीमा गर्दा बार्षिक ५० हजार आयकर छुट दिन गृहकार्य




काठमाडौं । जीबन बीमाको दायरा बढाउन र लगानीयोग्य पुँजी जुटाउन भन्दै जीबन बीमा गर्ने ब्यक्तिलाई बार्षिक ५० हजार रुपैयाँ आयकर छुट दिने गृहकार्य सुरु भएको छ ।

अहिलेसम्म जीबन बीमा गराएका ब्यक्तिहरुले बार्षिक २० हजार रुपैयाँ आयकर छुट पाउँदै आएकोमा यस्तो रकम बढाएर ५० हजार रुपैयाँ पुर्याउन बीमा समितिले छलफल थालेको हो ।

जीबन बीमा कम्पनीहरुले बार्षिक १ लाख रुपैयाँसम्म आयकर छुट दिन माग गरिरहेको समयमा समितिले बार्षिक ५० हजार रुपैयाँसम्म छुट दिन सकिने गरी आन्तरिक र अर्थमन्त्रालयसँग छलफल गरेको हो । अहिलेसम्म कुनै निर्णय नभएपनि २० हजारको सीमालाई बढाएर ५० हजार रुपैयाँ पुर्याउने गरी छलफल चलिरहेको समिति स्रोतले जानकारी दियो ।

‘जीबन बीमा गराएका ब्यक्तिलाई बार्षिक २० हजार रुपैयाँ आयकर छुट दिइदै आएको छ, यो सीमालाई बढाएर १ लाख रुपैयाँसम्म पुर्याउनु पर्ने माग आएको छ, तर अहिले ५० हजार रुपैयाँसम्म गर्दा ठीक हुन्छ होला भनेर त्यही अनुरुप छलफल गरिरहेका छौं,’ समिति स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

कर छुटको सीमा अर्थमन्त्रालयले तय गर्छ । बीमा समितिले सिफारिस मात्रै गर्ने हो । यसकारण यति रकमको कर छुट हुने भयो भन्ने यकिन हुन आगामी आर्थिक बर्षको बजेटसम्म कुनुपर्ने हुन्छ ।

जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक १ लाख रुपैयाँसम्मको आयकर छुट दिनु उपयुक्त हुने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विबेक झा बताउँछन् ।

‘छिमेकी देशहरुको अभ्यास, नेपालीको आम्दानी र खर्चको अबस्था जस्ता कारणले अहिले जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक १ लाख रुपैयाँसम्म आयकर छुट दिने ब्यवस्था गर्नु उचित हुन्छ, यस्तो ब्यवस्थाले राज्यलाई हानी हुदैन, थप फाइदा नै हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत झाले क्लिकमाण्डूसँग भने ।

करको दायरा बढाएर कर संकलन बृद्धि गर्न आयकर छुटको सीमा १ लाख रुपैयाँ पुर्याउन उचित हुने उनको भनाइ छ । जीबन बीमा गर्दा छुट पाइने आयकरको सीमा बढाउँदा जीबन बीमाप्रतिको आकर्षण बढ्ने र त्यसले लगानी गर्नको लागि पैसाको ब्यवस्था हुने झा बताउँछन् ।

‘आयकर छुटको सीमा बढाएर धेरै ब्यक्तिलाई आकर्षित गर्न सकियो भने त्यसले कर घटाउनुको साटो बढाउँछ, यस्तै बीमा कम्पनीमा संकलन हुने बीमा शुल्कले आर्थिक विकास र पूर्वाधार निर्माणमा लगानी गर्न सकिने भएकोले राज्यलाई दोहोरो फाइदा हुन्छ,’ झाको भनाइ छ ।

जीबन बीमा गर्ने ब्यक्तिहरुले तिरेको बीमा शुल्कबाट बीमा कम्पनीहरुले राज्यलाई कर तिर्छन् । यस्तै कम्पनीहरुले नाफा गरेमा नाफाको २५ प्रतिशत आयकर तिर्नुपर्छ ।

जीबन बीमा गराउने बीमा अभिकर्ताहरुले पाउने कमिसनमा १५ प्रतिशत अग्रिम कर कट्टी गरेर भुक्तानी गर्ने गरिएको छ । बीमा गराउने ब्यक्तिले पनि भुक्तानी अबधि पूरा भएर बीमा रकम फिर्ता लिदा कमाइको ५ प्रतिशत कर तिर्नुपर्छ । यसैकारण जीबन बीमा गराउने ब्यक्तिहरुलाई आयकरमा दिइने छुटको सीमा बढाएर प्रोत्साहन दिन बीमा कम्पनीहरुले माग गर्दै आएका हुन् । अहिले बीमा कम्पनीहरुले उठाएको बीमा शुल्कबाट १ खर्ब ८० अर्ब रुपैयाँ जति लगानी गरेका छन् ।


क्लिकमान्डु