आठ महिनामा आए साढे ११ हजार जिप, कार र भ्यान, २१ अर्ब राजश्व उठ्यो




काठमाडौं । आर्थिक बर्ष २०७४/७५ को फागुन मसान्तसम्ममा ११ हजार ७ सय ७३ वटा जिप, कार र भ्यान नेपाल भित्रिएका छन् । सो मात्रामा जिप, कार र भ्यान आयात हुँदा सरकारले २० अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको भन्सार महशुल उठाएको छ ।

भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेका अनुसार भारतबाट आयात हुने जिप, कार र भ्यानको राजस्वमा ठूलो हिस्सा भएको जानकारी दिए ।

‘भारतबाट ११ हजार ७ सय ७३ वटा जिप, कार र भ्यान आयात भएका छन्, गाडी संख्याको हिसाबले यो ९५ प्रतिशतभन्दा माथि र राजश्वको हिसाबले करिब ८७ प्रतिशत हो,’ अधिकृत वाग्लेले क्लिकमाण्डूसँग भने ।

चालु आर्थिक बर्षको पहिलो ८ महिनामा ९ अर्ब ६१ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको जिप, कार र भ्यान आयात भएको विभागले जानकारी दिएको छ ।

सरकारले जिप, कार र भ्यान लगायतका सवारी साधनलाई विलासिताको वस्तुको रुपमा लिने गरेको छ । त्यस्ता वस्तुको आयातमा सरकारले चर्को भन्सार शुल्क उठाउने गरेको छ ।

भारतबाट सबैभन्दा धेरै ११ हजार २ सय ८१ वटा जिप, भ्यान र कार आयात हुँदा १८ अर्ब २२ करोड रुपैयाँ बराबरको भन्सार महशुल उठेको छ । भारतबाट ८ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ बराबरको जिप, भ्यान र कार आयात भएको छ ।

दक्षिण कोरियाबाट १ सय ४ वटा जिप, भ्यान र कार आयात हुँदा ३१ करोड ४२ लाख रुपैयाँ बराबरको भन्सार महशुल उठेको छ । दक्षिण कोरियाबाट १३ करोड ९९ लाख रुपैयाँ बराबरको जिप, भ्यान र कार आयात भएको छ ।

जापानबाट २ सय ४७ वटा जिप, भ्यान र कार आयात हुँदा १ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बराबरको भन्सार महशुल उठेको छ । जापानबाट ७१ करोड ३८ लाख लाख रुपैयाँ बराबरको जिप, भ्यान र कार आयात भएको छ ।

फ्रान्सबाट ४१ वटा जिप, भ्यान र कार आयात हुँदा २२ करोड ६३ लाख रुपैयाँ बराबरको भन्सार महशुल उठेको छ । फ्रान्सबाट १० करोड २ लाख रुपैयाँ बराबरको जिप, भ्यान र कार आयात भएको छ ।

जर्मनीबाट ३७ वटा जिप, भ्यान र कार आयात हुँदा २२ करोड ६३ लाख रुपैयाँ बराबरको भन्सार महशुल उठेको छ । जर्मनीबाट १३ करोड ७० लाख रुपैयाँ बराबरको जिप, भ्यान र कार आयात भएको छ ।

चीन, मेक्सिको, थाइल्याण्ड, अमेरिका, बेलायत र दक्षिण अफ्रिकाबाट ६३ वटा जिप, भ्यान र कार आयात हुँदा ३८ करोड ४४ लाख रुपैयाँ बराबरको भन्सार महशुल उठेको छ । यी ६ वटा देशबाट १७ करोड ५० लाख रुपैयाँ बराबरको जिप, भ्यान र कार आयात भएको छ ।


क्लिकमान्डु