मुहानै सफा गर्ने अर्थमन्त्रीको घोषणाले गरेन काम, लक्ष्य अनुसार उठेन राजस्व



काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुने वित्तिकै घोषणा गरिएको ‘राजस्वको मुहानै सफा गर्ने’ नीतिले राजस्वको मूल मुहान नै धरमराएको छ ।

सरकारले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा उठाउने भनेर राखेको लक्ष्य अनुसार राजस्व उठेको छैन । चैत मसान्तसम्ममा ५ खर्ब २६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा जम्मा ५ खर्ब ८ अर्ब रुपैयाँ राजस्व उठेको अर्थमन्त्रालयका प्रवक्ता अर्जुन प्रसाद पोखरेलले जानकारी दिए ।

अर्थमन्त्रालयले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा उठाउने भनेर राखेको लक्ष्यभन्दा १८ अर्ब रुपैयाँ कम राजस्व उठेको छ ।

यसमध्ये पनि कर राजस्वको मात्रै कुरा गर्दा लक्ष्यभन्दा २४ अर्ब रुपैयाँ कम राजस्व उठेको छ । चैत मसान्तसम्ममा ४ खर्ब ७९ अर्ब रुपैयाँ कर राजस्व उठाउने भनिएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ मात्रै उठेको छ ।

चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा लक्ष्यभन्दा बढी गैरकर राजस्व उठेकोले सरकारलाई राहत भएको छ । चैत मसान्तसम्ममा ४६ अर्ब रुपैयाँ गैरकर उठाउने भनिएकोमा ५३ अर्ब रुपैयाँ उठेको छ । लक्ष्यभन्दा गैरकर राजस्व ६ अर्ब रुपैयाँ बढी उठेकोले समग्रमा राजस्व असुली १८ अर्ब रुपैयाँले मात्रै कम देखिएको हो ।

अर्थमन्त्री डा. खतिवडाले ‘राजस्वको मुहानै सफा गर्ने’ भनेर भन्सार राजस्वमा कडाइ गर्ने संकेत दिएका थिए । तर, भन्सार राजस्व नै लक्ष्यभन्दा कम उठेको छ ।

प्रवक्ता पोखरेलका अनुसार चैत मसान्तसम्ममा ९८ अर्ब ८७ करोड रुपैयाँ भन्सार शुल्क उठाउने लक्ष्य थियो । तर, सो समयसम्ममा जम्मा ९५ अर्ब ८७ करोड रुपैयाँ मात्रै भन्सार शुल्क उठेको छ । भन्सार शुल्क लक्ष्यभन्दा ३ अर्ब रुपैयाँ कम उठेको छ ।

आन्तरिक राजस्व विभागले उठाउनेमध्ये मूल्य अभिबृद्धिकर (भ्याट) र अन्तशुल्क भन्सार विन्दुमै उठ्छ । भन्सार शुल्क नै कम भएपछि आन्तरिक राजस्व विभागले उठाउने कर रकम कम हुने गर्छ ।

चैत मसान्तसम्ममा लक्ष्य अनुसार राजस्व नउठेपनि चालु आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य अनुसारै उठ्ने प्रवक्ता पोखरेलको भनाइ छ ।

‘चैत मसान्तमा हेर्दा केही कम देखिएको छ, अर्थमन्त्रालयले भन्सार र आन्तरिक राजस्व विभागलाई जसरी भएपनि लक्ष्य अनुसार राजस्व उठाउनु भनेर निर्देशन दिएको र उहाँहरु पनि लागिरहनु भएकोले चालु आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य अनुसार राजस्व उठ्नेमा विश्वस्त छौं,’ प्रवक्ता पोखरेलले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु