सुधीर बस्नेतको ओरेन्टलमा पैसा डुबेको छ ? आजदेखि दाबी गर्नुहोस्



तस्बीर स्रोतः नागरिक

काठमाडौं । सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल कोअपरेटिभका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्ताले आफ्नो डुबेको पैसा फिर्ता पाउन आइतबार (आज) देखि प्रमाणसहित दाबी गर्नुपर्ने छ ।

विशेष अदालतका पूर्वन्यायधीस गौरबहादुर कार्की अध्यक्ष रहेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका बचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई बैशाख २ गतेदेखि जेठ ६ गतेसम्म दाबी गर्न आह्वान गरेको हो ।

‘‘हामीले रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका हौं, सम्पत्ति बिक्री गरेर भएपनि रकम फिर्ता दिन्छौं, अहिले सुधीर बस्नेत र ओरेन्टलका सहकारी तथा अपार्टमेन्टका सञ्चालक तथा कर्मचारीहरुको सम्पत्ति खोजिरहेका छौं,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

समितिलाई ऐनले समस्याग्रस्त संस्थामा फसेको सर्वसाधारणको पैसा फिर्ता गर्ने जिम्मा दिएको छ ।

कहाँ र कसरी दाबी गर्ने ?

तपाईंले सहकारी विभागको वेभसाइट धधध।मभयअ।नयख।लउ र समितिको वेभसाइट धधध।अययऊअ।नयख।लउ मा मार्फत निवेदन दिन सक्नुहुने छ । साथै तपाईंले थप जानकारी दिनु परे समितिको ०१–५०१०३१३ नम्बरमा फोन गर्न सक्नुहुनेछ ।

त्यस्तै, समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ ।

के के प्रमाण चाहिन्छ ?

मागदावी पेश गर्दा आफुले बचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्ट पारेको छ ।

के भन्छ प्रतिवेदन ?

यसअघि सरकारले ०७० कात्तिक २७ गते कार्कीकै संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको उच्च स्तरीय आयोगको गठन गरेको थियो । आयोगले ०७१ जेठ ५ गते तत्कालीन प्रधानमन्त्री शुसील कोइरालालाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा बस्नेतले सहकारीको साढे ३ अर्ब रुपैयाँ र डेढ अर्ब रुरुपैयाँभन्दा बढी हाउजिङ तथा अपार्टमेन्टको ठगी गरेको उल्लेख छ । बस्नेत ठगी मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

कार्की संयोजकत्वको आयोगमा १२ हजार बचतकर्ताले १ सय ३४ सहकारी संस्थाले ११ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका थिए । जसअनुसार ७ अर्ब ५८ करोड रुपैयाँ साँवा र २ अर्ब ३९ करोड रुपैयाँ व्याज फिर्ता नपाएको देखिएको छ ।

त्यसैगरी हाउजिङ बुकिङकर्ताले बुकिङ गरेको वर्षौ वित्दा पनि हाउजिङ नपाएको भन्दै १ अर्ब ३६ करोड रुपैयाँ दाबीसहित आयोगमा उजुरी दिएका थिए ।

गत कात्तिकमा मात्रै समस्याग्रस्त

गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो । माघदेखि समितिले काम शुरु गरेको हो ।


पुष्प दुलाल