‘समृद्घिको मार्ग प्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण’




काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्ग प्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उनले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिवद्घ रहेको भन्दै उहाँले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताए ।

आजको सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत नेपाली उत्पादनलाई बजारसँग जोड्न तथा आम जनताको पहुँचमा पु¥याउन सकिने भनाई राखे ।

आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपुर्याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै उनले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई लघु, घरेलु तथा साना उद्योग विकासको माध्यम बनाउन पनि उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे ।

मुलुकको आर्थिक समृद्घिको मुख्य आधार साना उद्योगहरू भएको भन्दै उनले सूचना प्रविधिमार्फ मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकारलाई ठोस सुझाव दिन उद्योगीलाई आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरु आधुनिक प्रविधि र विकासको अभावमा हिजोदेखिकै परम्परागत वस्तु उत्पादनमै सीमित रहेको बताए ।

अबका दिनमा व्यवसायलाई विविधिकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अध्यक्ष गिरीले तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नु पर्दछ भन्ने महासंघको बुझाइ रहेको बताए ।

नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासप्रतिको दमित अभिलासा नयाँ सरकार गठन भएसंगै मुखरित हुन थालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्व सहित विकास र आर्थिक समृद्घिको अभियानमा तिब्रतर गतिमा अग्रसर हुने अपेक्षा गरेको गिरीले बताए ।

अध्यक्ष गिरीले विगतको अनुभवमा सरकारले पनि चलिरहेका लघु घरेलु तथा साना उद्योगहरुको स्तरोन्नतीगरी स्वदेशमै रोजगारी श्रृजना गर्ने भन्दा पनि बैदेशिक रोजगारका लागी सीप विकासमा बढि केन्द्रित भएको बताए ।


क्लिकमान्डु