वैशाख १५देखि हजामले माक्स र एप्रोन लगाएर कपाल काट्ने




काठमाडौं । आगामी वैशाख १५ गतेदेखि कपाल काट्ने हजामले अनिवार्य रुपमा ड्रेस लगाउनु पर्ने भएको छ ।

नाई संघ नेपालको ७ औं महाधिवेसनले हजामले कपाल काट्दा अनिवार्य रुपमा एप्रोन, माक्स र कपाल काट्न आउनेको कानमा कपास राख्ने नियम पारित गरेको अध्यक्ष राजाराम ठाकुरले जानकारी दिए ।

‘दैनिक रुपमा कपालसँग खेल्नु पर्ने भएकाले हजामहरुमा श्वासप्रस्वासको समस्या देखिने गरेको छ, हजामलाई स्वास्थ्य राख्नका लागि ड्रेस कोड अनिर्वाय गर्न लागिएको हो,’ ठाकुरले क्लिकमाण्डूसँग भने ।

स्वास्थ्य प्रति हजामहरु जागरुप हुन नसकेका कारण सानो हेलचेक्राईले पनि ठूलो रोग निम्त्याउन सक्छ । धेरै हजाम साथीहरुलाई सुरुमा एप्रोन र माक्स लगाएर काम गर्न असह हुन सक्ने उनी बताउँछन् ।

‘स्वास्थ्य भन्दा ठूलो केहि छैन, बानी पर्दै गएपछि साथीहरुले सहज महसुश गर्नु हुनेछ,’ उनले भने ।

हजामहरुलाई माक्स र एप्रोनको बानी बसाल्नका लागि नाई संघले ड्रेस नलगाई काम गर्नेलाई कारबाही समेत गर्ने जानकारी दिएको छ ।

ड्रेस नगाई काम गर्ने हजामलाई नाई संघले ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

जरिवानाको त्रासका कारण हजामहरुले अनिवार्य रुपमा ड्रेस लगाउने कुरा प्रति विश्वस्त भएको अध्यक्ष ठाकूरले बताए ।

साथै, कपाल काट्ने क्रममा हजामले सूर्तिजन्य पदार्थ सेवन गरेर कपाल काट्न नपाउने भएका छन् । यसरी सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा संघको तर्फबाट आवश्यक कारबाही हुने उनी बताउँछन् ।

खुल्ला ठाउँमा कपाल नकाटिने
अब सडकपेटी तथा खुल्ला ठाउँमा कपाल काट्न नपाइने भएको छ ।

‘सडका छेउमा तथा रुखमूनी शिसा झुण्डाएर कपाल काट्ने दिन गए,’ अध्यक्ष ठाकूरले भने ।

खुल्ला ठाउँमा कपाल काट्दा फोहोरको उचित व्यवस्थापन नहुनका साथै ग्राहक र हजाम दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको ठाकूर बताउँछन् ।

महिनामा एक दिन सैलुन बन्द
नाई संघ नेपालले महिनामा एक दिन अनिवार्य रुपमा सैलुन बन्द गराउने भएको छ ।

काठमाडौं उपत्यकामा महिनाको अन्तिम मंगलबार, पोखरा र विराटनगरमा महिनाको पहिलो मंगलबार, बुटवलमा पहिलो सोमबार, विरगंजमा पहिलो बिहीबार सैलुन बन्द गर्नु पर्ने संघले व्यवस्था गरेको हो ।

देशका अन्य स्थानमा त्यहाँका हाट बजार तथा आवश्यकता अनुरुप महिनाको एक दिन बिदा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

कामसँगै आरामको पनि आवश्यकता रहने भएकाले महिनाको एक दिन छुट्टीको व्यवस्था गरिएको अध्यक्ष ठाकूरले बताए ।


क्लिकमान्डु