यी तीन विषयमा अड्कियो एमाले र माओवादी केन्द्रको एकता




काठमाडौं । पछिल्ला दिनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया सुस्ताएको छ ।

बुधबारका लागि तय भएको एकता संयोजन समितिको बैठक समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरामी भएको भन्दै स्थगित गरियो ।

पछिल्लो समयमा विशेष गरी तीन वटा मुद्दाले एकता प्रक्रियालाई रोकिरहेको दुवै दलका नेताले बताएका छन् ।

नेताहरुका अनुसार विशेष गरी निर्वाचन चिन्ह, जनयुद्ध र केन्द्रीय समितिमा रहने सदस्यको प्रतिशतका बारेमा समस्या देखिएको छ ।

एमालेले जनतामा स्थापित भएको सूर्य चिन्हलाई नै यथावत् राख्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले भने सूर्य भित्र हसिया हथौता चिन्ह समेत राखेर एकताको भाव चिन्हमा समेत प्रस्तुत हुने गरी एकता गर्नुपर्ने बताउँदै आएको छ ।

यस्तै जनयुद्धको विषयमा मतभेद रहँदै आएको छ । माओवादी केन्द्रले २०२८ सालको झापा विद्रोह र जनयुद्धको मूल मर्म र भावलाई स्थापित गर्दै इतिहासको सम्मान गर्नुपर्ने बताएको छ । एमालले भने जनक्रान्ति भन्ने शब्द उल्लेख गरेर सबैलाई समेट्नुपर्ने धारणा राख्दै आएको छ ।

माओवादीले सम्मानजनक एकताको विषयलाई प्रमुखताका साथ उठाएको छ । उसले प्रतिशतको मात्रामा भन्दा पनि दुवै पार्टीका नेता तथा कार्यकर्ताले एकताको भाव ग्रहण गर्न सक्ने गरी एकता हुनुपर्ने धारणा राख्दै आएको छ ।

एमालले भने आकारका आधारमा मात्रै एकता गर्नु उपयुक्त हुने बताउँदै आएको छ । माओवादीले उठाएको जनयुद्धको विषयलाई सम्बोधन गर्न एमाले तयार जस्तै देखिएको छ । यस्तै चुनाव चिन्ह पनि सूर्य भित्र हसिया हथौडा राख्न कुनै समस्या नहुने एमालेको ठहर छ ।

तर प्रतिशतको विषयमा भने एमाले कडा देखिएको छ । जसका कारण माधवकुमार नेपाल र रामबहादुर थापा नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएको लामो समय भइसक्दा समेत एकता प्रक्रियाले गति लिन सकेको छैन ।

दुवै पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको दिनमा नै पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन् । तर कुरा मिल्न नसक्दा सोही दिन पार्टी एकता घोषणा होला कि नहोला भन्ने शंका भने कायम नै रहेको छ ।

सहमति अनुसार पार्टी स्थापना भएको दिन अप्रिल २२ तारिकमा एकीकृत पार्टीको घोषणा गर्ने तयारी गरिएको दुवै पार्टीका नेताले बताउँदै आएका छन् ।


क्लिकमान्डु