असिना पानीले भक्तपुरमा ५ करोडको इट्टा नष्ट



फाईल फोटा

भक्तपुर । एक सातायता परेको असिना पानीका कारण जिल्लामा ५ करोड रुपैयाँ बराबरको काँचो इट्टा नष्ट भएको छ ।

जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिए ।

अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ । हाल काँचो इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत रोकिएको उनले बताए ।

यसवर्ष गतवर्षभन्दा कम इँटा उत्पादन भएको र तयारी अवस्थामा रहेको इँटासमेत नष्ट भएपछि इँटाको अभाव हुने सम्भावना बढेको ह्याम्बाले बताए । भूकम्पपछि पुनःनिर्माणसँगै इँटाको माग अत्यधिक बढेको थियो । मागअनुसार उपलब्ध गराउन नसकिरहेको अवस्थामा असिना पानीले इँटा नष्ट गर्दा थप समस्या भएको उनको भनाइ छ ।

असिना पानीका कारण इँटा उत्पादनसमेत रोकिएको उहाँले बताउनुभयो । इँटा पोल्ने कार्य रोकेर आगो लगाउने काम नै बन्द गरिएको छ । भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु भएका कारण इँटा उत्पादन गर्न ढिलाइ हुने भएको छ ।


क्लिकमान्डु