बीएण्डसीको अर्को सफलता, १५ बर्षपछि निकालियो गोलीको छर्रा




झापा । पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।

पूर्वमा छुट्टै पहिचान भएको बीएण्डसी टिचिङ्ग हस्पिटलले संस्थागत सामाजिक उत्तरदायितव अन्र्तग अनुपाको निःशुल्क उपचार गरेपछि उनमा खुशी फर्किएको हो ।

ओखलढुंगाको कुइभीर माविमा कक्षा–९मा अध्ययनरत् रहेकै बेला माओबादी ससस्त्र विद्रोहमा होमिएकी अनुपा २०५९ साल बैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा परेकी थिइन् । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार गरेपछि उनमा १५ वर्षपछि खुशी फर्किएको हो ।

उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीरमा गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहेकी थिइन् । युद्धबिरामपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारमा पुगे पनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि पार्टी र सरकारले चासो देखाएको थिएन ।

आर्थिक अबस्था कमजोर भएका कारण समयमै उपचार गर्न नसकेको अनुपाले बताइन् ।

उनको साढे ५ घण्टा लगाएर सफल शल्यक्रिया गरिएको विएनसीले जानकारी दिएको छ । उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा.पंकज नेपाल र डा.दिनेश थापाको टोलीले यो सफलता बीएण्डसी हस्पिटलका लागि सबैभन्दा महत्वपूर्ण भएको डा.नेपालले बताएका छन् ।

अनुपाको घाँटी र टाउकोमा रहेको ५–५ एमएमका गोलीका छर्रा निकालिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको छाती, हात र घाँटीका हड्डी अझै पनि गोलीका छर्रा रहेको र त्यसले अनुपाको स्वास्थ्यमा कुनै असर नगर्ने डा. नेपालले जानकारी दिए ।

उपचारपछि खुसी देखिएकी अनुपाले आफुमा कुनै पिडा नभएको बताइन् । उनले आफ्नो उपचारका लागी बीएण्डसी हस्पिटलले गरेको सहयोग जीवनकै ठूलो सहयोग भन्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको प्रशंसा गरेकी थिइन् ।

अनुपाका बुबा–आमा अर्जुन र रेनुका राईले बीएण्डसी हस्पिटलले आफ्नो छोरीको जीवन बचाईदिएको भन्दै कार्यकारी निर्देशक प्रसाईप्रति कृतज्ञता प्रकट गरे । उनीहरुले बीएण्डसी हस्पिटलले लाखौं रुपैंयाँको उपचार निःशुल्क गरेर ठूलो गुन लगाएको बताए ।

हस्पिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिब, असाहय र अशक्त बिरामीको निःशुल्क उपचार गरेर सामाजिक दायित्व निर्वाह गरिरहेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए । प्रदेश सांसद रमण न्यौपालेले बीएण्डसी हस्पिटल खुलेपछि मेची अञ्चलबाट उपचारका लागि विदेशीने गरेको ठूलो रकमको हिस्सा रोकिएको बताए । प्रदेश सरकारको तर्फबाट हस्पिटललाई गर्ने सबै सहयोग गर्न तयार रहेको समेत न्यौपालेले प्रतिबद्धता जनाए । अस्पतालले अनुपमाको निशुल्क उपचारको साथै उपचारपछि बाटो खर्च समेत दिएर पठाएको बताइएको छ ।


क्लिकमान्डु