यो बर्ष इजरायलले साढे ५ सय युवा किसान लाने




काठमाडौं । नेपाली युवाले इजरायल गएर आधुनिक कृषि प्रणाली सिक्ने र कमाउने मौका पाउने भएका छन् । इजरायली राजदूतावास र साना किसान बिकास बैंकको सहकार्यमा ५ सय ४० जना युवालाई सिपसहितको रोजगारीको लागि इजरायल पठाउन लागिएको हो ।

१० महिने कृषि तालिमका लागि ५० जिल्लाबाट साना किसानमा आवद्ध रहेका किसानका छोराछोरीलाई इजरायलमा कृषि सम्बन्धी तालिमको लागि पठाउन लागिएको हो ।

साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइरालका अनुसार काठमाडौं उपत्यकाबाट १ सय जना युवाले यस्तो अबसर पाउने छन् । बाँकी उपत्यका बाहिरका साना किसान विकास बैंकका सदस्यका सन्ततीले अबसर पाउने छन् ।

‘हामी नेपालभरबाट गोला प्रथाबाट ५ सय ४० जनालाई इजरायल पठाउने तयारीमा छौँ, उपत्यकाबाट ९२ जना पुरुष र ८ जना महिलालाई इजरायल कृषि तालिमका लागि लाने लागेको हौँ, त्यहाँ उहाँहरुले काम सिक्नुका साथै पैसा कमाउने वातावरण पनि पाउनु हुनेछ’ कोइरालाले भने ।

उपत्यकामा आज गोलाप्रथाबाट प्रशिक्षार्थी छनोट गरिएको छ । यस्तै मंगलबार झापाको दमकमा २० जिल्लाका युवा भेलागरी गोलाप्रथाबाटै छनोट गरिनेछ । त्यसपछि धादिङ र नुवाकोट लगायतका जिल्लाका प्रशिक्षार्थीहरुका लागि छुट्टै गोलाप्रथा गरिनेछ ।

उपत्यकाबाट २२ बर्षदेखि ३० बर्षसम्मका युवा र उपत्यका बाहिरका २२ देखि २८ बर्षसम्मका युवालाई इजरायल पठाउन लागिएको हो । तालिमका लागि इजरायल जान न्युनतम प्लस टु उत्र्तीण र कृषि पेशामा आवद्ध हुनु पर्ने ।

कार्यक्रममा कृषि, भूमी तथा सहकारी विकास मन्त्रालयका सहसचिव योगेन्द्र कुमार कार्कीले कृषि आधुनिकरण तर्फ अब देश अघि बढ्नु पर्ने बताए ।

नेपालको अर्थतन्त्रलाई मजबूत बनाउनका लागि कृषिको अहम् भूमिका रहने कार्कीको भनाइ छ ।

‘नेपालका ६६ प्रतिशत मानिस कृषि पेशामा आवद्ध भए पनि धेरै जस्तो खाद्य तथा तरकारी विदेशबाट भित्राउनु पर्ने बाध्यता छ, कृषिमा आधुनिकिकरण गर्न नसक्नु नै मूख्य कारण हो, कृषिलाई व्यवसायिक रुपमा अघि बढाउन सकिएमा नेपालका युवा विदेशिनु पर्ने अवस्थाको अन्त्य हुनेछ,’ कार्कीले भने ।

इजरायलले कृषिमा प्रविधिको प्रयोग संसारभर तरकारी निर्यात गर्न सक्ने अवस्थामा पूगेको उनले बताए ।

‘नेपाली युवाले इजरायलले प्रयोगमा ल्याएको प्रविधि सिक्नका लागि पठाउन लागिएको हो, युवाले १० महिना इजरायलमा बसेर त्यहाँ प्रयोग गरिएका प्रविधि बारेमा सिक्ने अवसर पाउने छन्, यसबाट नेपालको कृषिमा अत्मनिर्भर हुने अभिलासा साकार हुनेछ,’ कार्कीले भने ।

यस बर्षको तालिम सफल भएमा अर्को बर्ष थप १ हजार जनालाई तालिममा पठाउन पहल गरिने पनि कार्की बताउछन् ।

गत बर्ष कृषि मन्त्रालयले इजरायलमा तालिम लिएर फर्केका युवालाई आत्मनिर्भर बनाउनका लागि जनही १ लाख रुपैयाँ अनुदान दिएको थियो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पान्डेले इजरायलमा २ प्रतिशत मानिसहरु मात्र कृषिमा आवद्ध भए पनि उनीहरुले यूरोपियन मुलुक तथा अमेरिकामा समेत तरकारी निर्यात गर्ने गरेको जानकारी दिए ।

तर नेपालमा पुर्खादेखि कृषि पेशामा आवद्ध भएपनि कृषिमा अत्मनिर्भर हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

‘नेपालीले इजयारबाट आधुनिक कृषि खेती सिक्नु पर्छ, इजरायलबाट पैसा कमाउने भन्दा पनि सिप सिकेर स्वदेशमै केही गर्छु भन्ने भावना विकास गर्नुपर्ने हुन्छ,’ पूर्वअर्थमन्त्री पाण्डेले भने ।

उपत्यकाबाट २२ बर्षदेखि ३० बर्षसम्मका युवा र उपत्यका बाहिरका २२ देखि २८ बर्षसम्मका युवालाई इजरायल पठाउन लागिएको हो । तालिमका लागि इजरायल जान न्युनतम प्लस टु उत्र्तीण र कृषि पेशामा आवद्ध हुनु पर्ने साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए ।

यसरी तालिमका लागि जाने प्रशिक्षार्थी कामदारले १५ लाख रुपैयाँ बराबरको सम्पति धरौटी राख्नु पर्नेछ । यस्तै इजरायल जानका लागि लाग्ने एक लाख रुपैयाँ खर्च पनि व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।


क्लिकमान्डु