नयाँ वर्षलाई अग्रिम बुकिङ नगरे पोखराका होटलमा रुम पाउनै गाह्रो



काठमाडौं । पछिल्लो दशक नेपालीहरुको पनि घुम्न जाने ‘कल्चर’ बढ्दो छ । कुनै अवसर आउनेवित्तिकै साथीभाई, परिवार र आफ्नो मायाँलुसँग घुम्न जानेहरु प्रसस्तै भेटिन्छन्, अचेल ।

घुम्ने सोख भएकाहरुका लागि नयाँ वर्ष पनि निकै ठूलो अवसर हो । धेरै नेपालीहरु नयाँ वर्षमा घुम्न जान थालेका छन् । र, यसरी घुम्न जानेहरुका लागि पहिलो रोजाइमा पर्छ पोखरा ।

आन्तरिक होस् या बाह्य पर्यटकका लागि पोखरा आकर्षक पर्यटकीय गन्तव्य हो । पोखरासँग पर्यटक तान्ने प्राकृति दृश्यहरुमात्रै होइन, संस्कार पनि छ, ब्राण्ड पनि छ ।

हाल पोखरामा सबै होटलका रुमहरु ७० प्रतिशत बढी बुक भइसकेका छन् ।

चाड, पर्व तथा उत्सबहरुम पोखरामा पर्यकटहरुको घुइँचो नै लाग्ने भएकाले पर्यटकीय सिजनमा पोखराका होटलमा रुम पाउनै गाह्रो हुन्छ । त्यसैले अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ । अग्रिम बुकिङ गर्दा भने रुम पनि पाइन्छ । र, छुट पनि ।

नयाँ वर्ष २०७५ नजिकिएसँगै पोखराका होटलहरुमा धमाधम रुम बुकिङ भइरहेको पोखरा होटल संघका अध्यक्ष बिप्लप तुलाचनले जानकारी दिए ।

होटल फेवा होलिडेका महाप्रबन्धक सागर शर्माका अनुसार हाल पोखरामा सबै होटलका रुमहरु ७० प्रतिशत बढी बुक भइसकेका छन् ।

फेवा होलिडेमा पनि अधिकांस रुमहरु बुकिङ भइसकेको उनले जानकारी दिए । उनले आफ्नो होटलमा १ रात बिताएको १५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म लिने गरेको बताए ।

‘नेपाली नयाँ वर्षलाई अरुसामू चिनाउनका लागि फेवा महोत्सव समेत आयोजना गरेका छौँ, यसले विदेशीहरुलाई पनि नेपाली नयाँ वर्षको महत्व झल्काउने अपेक्षा गरेका छौँ,’ शर्माले क्लिकमाण्डूसँग भने ।

लेकसाइडस्थित होटल बराहीले नयाँ वर्षको लागि रुपममा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बराहीमा ७५ प्रतिशत रुमहरु अग्रिम बुक भइसकेको होटलका महाप्रबन्धक बिप्लब पौडेलले बताए । यो होटलमा एउटा रुमको ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्छ ।

‘होटल व्यवसायीहरु मिलेर फेवा महोत्सव आयोजना गरेका छौँ, यसले हाम्रो नेपाली संस्कृतीलाई पर्यटन माझ झल्काउने छ’ पौडेलले भने ।

लेकसाइडकै होटल ग्र्याण्ड होलिडेले कोठाको शूल्कमा १० प्रतिशत छुटको अफर राखेको छ । सामान्य कोठाको २ हजार रुपैयाँ लिने गरेका होटलका महाप्रबन्धक जनक कार्कीले यो नयाँ वर्षका लागि ६० प्रतिशत बढी कोठा बुक भइसकेको जानकारी दिए । यहाँ कोठाको मूल्य ५ हजार रुपैयाँसम्म रहेको छ ।

नयाँ वर्षकै उपलक्ष्यमा होटल हिमालयनले २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । सामान्य कोठाको १ हजार २ सय रुपैयाँदेखि १ हजार ४ सय रुपैयाँ लिने गरेको छ ।

होटलका महाप्रबन्धक राम कार्कीका अनुसार हिमालयनका ५० प्रतिशत रुपम अहिलेसम्ममा बुक भइसकेका छन् । धेरै होटल भएका कारण यो पटक खासै धेरैले बुक नगरेको उनको भनाइ छ ।

यस्तै होटल अर्किटले प्रतिकोठा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । एउटा कोठाको २ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिने गरेको छ । सो होटलमा ५० प्रतिशत रुम बुक भइसकेको होटलका महाप्रबन्धक जनक कार्कीले बताए ।

लेकसाइडमै रहेको दि नर्थफेस इनले भने यो वर्ष कुनै पनि अफरको व्यवस्था गरेको छैन । सो होटलले एउटा कोठाको मूल्य १ हजार १ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको छ ।

होटलका महाप्रबन्धक राजु आचार्यका अनुसार पोखरामा पछिल्लो समय होटलको संख्या धेरै भएका कारण व्यवसाय खासै फस्टाउन सकेको छैन ।

‘प्रत्येक दिन होटलको संख्या बढ्दो छ, खासै राम्रो व्यापार छैन, त्यसैले अफर पनि केही राखेको छैन,’ आचार्यले भने ।


पुष्प दुलाल