८५ कम्पनीको डाटा चोरीको अभियोगमा पाठक पक्राउ




काठमाडौं । पहिला आफैले काम गरेको कम्पनीको तथ्यांक (डाटा) चोरीको आरोपमा क्लाउड नेपाल आइटीका संचालक कमल पाठक पक्राउ परेका छन् ।

पाठकले भर्खर जागिर छोडेको कम्पनी इजोन इन्टरनेसनलको ८५ कम्पनीको क्लाउड डाटा चोरी गरेर क्षति पुर्याएको आरोपसहित नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएपछि पाठक पक्राउ परेका हुन् ।

पूर्वकर्मचारी पाठकले आफू कार्यरत रहदाको युजर नेम र पासवर्ड प्रयोग गरी डाटा चोरी गरेको पाइएको इजोनका संचालक दामोदर अधिकारीले जानकारी दिए । चैैत १ गतेदेखि जागिर छोडेका पाठकले चैत १६ गते अनधिकृत रुपमा सिस्टममा प्रवेश गरी तथ्यांक चोरी गरेको अधिकारीको भनाइ छ ।

‘चैत १६ गते विहानै केही ग्राहकले कम्पनीमा फोन गरी आफ्नो सफ्टवेयरमा लगईन गर्न नसकेको खबर गर्नुभयो, हामीले जाँचबुझ गर्दा ग्राहकहरुको सफ्टवेयरको डाटा मेटिई लग इन गर्न नसकिने भएको देखियो, सो समस्याको बारेमा हाम्रो क्लाउड सर्भिस प्रोभाईडर (डाटा सेन्टर) एक्सेस वल्र्ड टेक प्रालिसँग सम्पर्क गरी बुझ्दा चैत १६ गते विहान ५ बजेर ४९ मिनेट जादादेखि ६ बजेर ११ मिनेट जादासम्ममा उहाँले ८५ वटा हाम्रा ग्राहकको खासखास डाटा मेटाइदिनु भएको रहेछ, अनि हामीले प्रहरीमा जाहेरी दिएका हौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

पाठकले आफ्नो कम्प्युटरबाट आफूले पहिला काम गरेको कम्पनीको डाटामा क्षति पुर्याएको इजोनको आरोप छ ।

साइबर कानुनका ज्ञाता अधिबक्ता बाबुराम अर्याल यसरी तथ्यांक चोरी गर्नु विद्युतीय कारोबार ऐनले बर्जित गरेको कार्य भएको बताउँछन् ।

‘विद्युतीय कारोबार ऐनले यसरी तथ्यांक चोरी गर्न तथा हानी नोक्सानी पुर्याउन नहुने भनेको छ, तथ्यांक जस्तो सम्बेदनशील विषय कसैले चोरी गरेको वा हानी नोक्सानी पुर्याएको प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ,’ अधिवक्ता अर्यालले क्लिकमाण्डूसँग भने ।

इजोनले पाठक विरुद्ध दिएको जाहेरीको प्रति ।

 

इजोनले पाठकसँग २० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै जाहेरी दिएको छ । २०७१ असारदेखि इजोनमा सिनियर सफ्टवयर डेभलपर पदमा कार्यरत पाठकले गत चैत १ गतेदेखि जागिर छोडेर आफ्नै क्लाउड नेपाल आइटी कम्पनी खोलेर बसेका थिए ।


क्लिकमान्डु