सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले यसरी झपारे (अडियो सुन्नुस्)



काठमाडौं । बाम गठबन्धनको सरकार गठन भएपछि सेयर बजार लगातार घटिरहेको छ । यसरी सेयर बजार सूचक घटेपछि लगानीकर्ताहरु आत्तिएका छन् ।

सार्वजानिक कार्यक्रमहरुमा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको बारेमा नकरात्मक टिप्पणी गरेपछि बजार घटेको लगानीकर्ताहरुको निष्कर्श छ ।

डा. खतिवडा अर्थमन्त्री भएपछि लगानीकर्ताहरुले उनलाई भेट्न धेरै प्रयास गरे । तर, अर्थमन्त्रीले कार्यव्यस्तताका कारण भेट दिन सकेनन् । जसले लगानीकर्ता झन् धेरै अत्तालिए ।

‘तपाईंहरु इन्भेष्टर हुनुहुनछ, के आधारमा इन्भेष्ट गरिरहनु भएको छ ? विवेक प्रयोग गर्नुभएको छ ? यदि मैले बैंकिङ सिस्टम नजोगाइदिएको भए तपाईंको सेयर आज के हुन्थ्यो ?’

बुधबार एक दर्जन लगानीकर्ता र ब्रोकरहरुले अर्थमन्त्री खतिवडालाई अर्थ मन्त्रालयमै गएर भेटे । अर्थमन्त्रीले टिप्पणी गरेका कारण बजार घटेको भन्दै आगामी दिनमा यस्तो टिप्पणी नगरिदिन लगानीकर्ताले आग्रह गरे ।

लगानीकर्ताको यस्तो आग्रह सुन्नासाथ अर्थमन्त्री खतिवडा एक्कासी झोँक्किए । र, उनले लगानीकर्ताहरुलाई झपार्न थाले ।

अर्थमन्त्रालय स्रोतले क्लिकमाण्डूलाई उपलब्ध गराएको अडियोमा अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरुलाई यसो भन्दै झपारेको प्रष्ट सुन्न सकिन्छ ।

‘सिध्यो अब यसको बहस नै छैन, तपाईंको इस्यू छ भने ल्याउनुहोस्, मूल्यमा छलफल गरिँदैन,’ आक्रोशित हुँदै अर्थमन्त्री खतिवडाले भन्छन्- ‘इन्भेष्टरलाई मैले धेरै समय दिने होइन, मैले इस्यूमा समय दिने हो । तपाईंहरुलाई मैले बिजनेश एडभाइज दिने पनि होइन ।’


अर्थमन्त्री खतिवडाले आफ्नो भनाईलाई देखाएर सेयर बजार सूचक २००० पुर्याएर कसैले नाफा कमाउँला भन्ने सोचेको छ भने त्यो गलत भएको बताए । अर्थमन्त्रीको भनाइलाई देखाएर सेयर बजार क्र्यास गराएर सस्तोमा किनेर नाफा कमाऔंला भनेर कसैले सोचेको भए त्यो पनि गलत भएको उनले प्रष्ट पारे ।

‘मेरो कारणले बजारलाई माथि उठाएर नाफा लिन्छु भन्ने नसोचे हुन्छ । र, मेरो कारणले सेयर बजार क्र्यास भएर अनि फेरि सस्तोमा लुटौंला भनेर पनि कसैले नसोचे हुन्छ,’ खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले लगानीकर्तारुले विवेक प्रयोग नगरी सेयर बजारमा लगानी गरिरहेको बताए ।

‘तपाईंहरु इन्भेष्टर हुनुहुनछ, के आधारमा इन्भेष्ट गरिरहनु भएको छ ? विवेक प्रयोग गर्नुभएको छ ?’ प्रश्न गर्दै उनले भने, ‘यदि मैले बैंकिङ सिस्टम नजोगाइदिएको भए तपाईंको सेयर आज के हुन्थ्यो ? जसले ७५ प्रतिशत सेयर कारोबार हुने इन्ड्रस्टी जोगाइदियो, अनि त्यसैलाई चैं अर्थमन्त्रीले अर्थतन्त्र बिगारे भन्दै ट्वीट गर्दै हिँड्नुहुन्छ ?’

अर्थतन्त्रलाई कसरी म्यानेज गर्नुपर्छ भनेर आफू २५ वर्षदेखि लागिरहेको उनले सुनाए । उनले आफू आर्थिक क्षेत्रको व्यक्तिमात्रै नभई संस्था नै भएको दाबी गरे ।

‘अर्थतन्त्रलाई बलियो बनाउने, देशभित्रका कम्पनीहरुलाई बलियो बनाउने भन्ने कुरा मात्रै अर्थमन्त्रीको हुन्छ, त्यो बलियो संस्था कतिमा किनबेच हुन्छ, त्यो गर्ने तपाईंहरुले हो,’ उनले भनेका छन् ।

बाम गठबन्धनको घोषणापत्र पढ्न अर्थमन्त्रीको सुझाब

सरकारले पुँजी बजारलाई अब कसरी अघि बढाउँछ भन्ने जान्नका लागि बाम गठबन्धनको घोषणापत्र पढ्न मन्त्री खतिवडाले लगानीकर्तालाई सुझाब दिएका छन् ।

‘हामी निर्मल प्रधानहरुको गोदाममा मात्रै सेयर बसिरहोस् भन्ने चाहँदैनौं,’ खतिवडाले भने, ‘सबै नेपालीको घरमा अलिकति क्यास होस्, अलिकति कुनै बैंक तथा वित्तीय संस्थाको सेयर होस्, १/२ वटा बण्डमा लगानी गरेको पेपर होस्, बैंकमा अलिकति निक्षेप होस् भन्ने हामी चाहन्छौं ।’

अर्थमन्त्रीले के के भने भनेर जान्न अडियो पूरै सुन्नुहोस् ।


पुष्प दुलाल