कस्तो आउदै छ सेयरको अनलाइन कारोबार प्रणाली ?



अनलाइन कारोबारसेयर बजारमा धेरैले प्रतिक्षा गरेको पूर्वाधार हो । ब्रोकर कहाँ गइ युजर नेम र पासवर्ड लिएर इन्टरनेटको माध्यमबाट लगानीकर्ता आफैले जुनसुकै स्थानबाट कारोबार गर्न सक्ने यो प्रणालीलाई सेयर बजारको विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ । जसको विकाससँगै सेयर बजारमा लगानीका धेरै विकल्पको सुरुवात हुन सक्छ ।

तर सेयर बजारको यति महत्वपूर्ण पूर्वाधारको सुरुवात कहिले हुदैछ त्यो भने अनिश्चित नै छ । नेपाल स्टक एक्सचेन्ज संचालन गर्ने जिम्मा पाएका ठेकेदारका समय समयका हल्लालाई आधार मान्ने हो भने यो प्रणाली २०७५ को कुनै पनि महिनामा सुरुवात हुने छ । तर सवै भन्दा महत्वपुर्ण कुरा सेयर बजारको मेरुदण्डको रुपमा हेरिने अनलाइन कारोबार प्रणाली कस्ता विशेषता सहित आउदै छ त्यो भने अहिलेसम्म कति पनि स्पष्ट पारिएको छैन । लुकाइएको छ । सम्भवतः अर्थमन्त्रालयले यस विषयमा चाँडै कारवाही अगाडी बढाउने छ ।

यसको सुरुवातसँगै लगानीकर्ताले कुन प्रकारका सुविधा पाउने छन् ? भन्ने नेप्सेले अहिलेसम्म सार्वजनिक गरेको छैन ।  अनलाइन कारोबारले लगानीको दायरालाई कति फराकिलो बनाउने छ र लगानीकर्ताले सुसुचित कारोबार गर्न पाउने अधिकार कति पाउने छन् त्यसको जानकारी कार्यान्वयन हुनु अगाडि नै दिइनुपर्छ ।

नेप्सेले संचारकर्मीमाझ यसको बृस्तृत विवरण सार्वजनिक गर्नुपर्छ । त्योभन्दा अझ महत्वपूर्ण नेप्सेले अनलाइन कारोबार प्रणालीको कार्यप्रगतिको तालिका यसको बेव पेज मार्फत सार्वजनिक गर्नुपर्छ । जस्तो अहिलेसम्म कति प्रतिशत काम सम्पन्न भयो, बाँकी काम कहिलेसम्म सकिने छ, परिक्षण कहिलेबाट हुनेछ, लगानीकर्ताले कहिलेबाट कारोबार सुरु गर्ने छन् ? यसको कार्यतालिका बेव पेजमा राख्नु पर्छ ।

अनलाइन कारोबार प्रणाली केवल लगानीकर्तालाई युजर नेम र पासवर्ड दिएर बजारको गहिराई (मार्केट डेप्थ) हेर्ने र खरिद विक्री गर्ने सुविधा मात्र पाउने छन वा बजारको सुचनाको व्यापकता सहित विश्लेषणका औजार पनि यसले पस्कने छ यस विषयमा बजारका सरोकारवाला जस्तो लगानीकर्ता, ब्रोकर, लगानी व्यवस्थापक, धितोपत्र बोर्डले अगाडी नै थाहा पाउन जरुरत छ ।

यो गरिएमा सरोकारवालाबाट प्राप्त सुझाबका आधारमा बजारको आवश्यकता र चाहना बमोजिम प्रणालीको विकास हुन सक्छ । तर रमाइलो कुरा ब्रोकर र लगानीकर्तासँग प्रत्यक्ष जोडिएको यति महत्वपूर्ण कुरामा नेप्सेले अहिलेसम्म कुनै छलफल गरेको देखिदैन । लगानीकर्ताका सँघ संगठनले पनि केवल अनलाइन कारोबारको सुरुवातको मात्र कुरा उठाएको पाइन्छ । तर निर्माण गरिरहेको प्रणालीका विशेषता थाहा पाउने जमर्को गरेको पाइदैन । ब्रोकरले पनि यस विषयमा धेरै चासो दिएको देखिदैन ।

के यो प्रणालीमा लगानीकर्ताको पोर्टफोलियो एक मुष्ट हेर्न सक्ने व्यवस्था हुने छ ? के यो प्रणालीमा  अहिले बजार मूल्यका आधारमा नलिएको नाफा वा घाटा एक मुष्ट हेर्न सक्ने व्यवस्था हुने छ ? बजारको प्रत्यक्ष (लाइभ) मूल्यसँगै नाफा नोक्सान परिवर्तन हुदै जाने व्यवस्था छ ? विगतको हरेक कारोबारको अलगअलग र समग्र नाफा नोक्सान हेर्न सक्ने व्यवस्था छ ? बार्षिक रुपमा नाफा नोक्सान समायोजन हुन सक्ने व्यवस्था छ ? लगानीकर्ताको पोर्टफोलियोको कार्यसम्पादनलाई नेप्से परिसुचकको कार्यसम्पादनसँग तुलना गर्न सक्ने व्यवस्था छ ? कम्पनीको कति बर्षको मुल्यको रेखा चित्रमा प्रस्तुत गर्न सकिनेछ ? कस्ता कस्ता रेखा चित्रबाट लगानीकर्ताले कम्पनीको प्राविधिक विश्लेषण गर्ने अवसर पाउने छन् ? आधारभूत विश्लेषणका लागि कस्ता विशेषता यो प्रणालीले दिनेछ ? के लगानीकर्ताले प्रतिसेयर आम्दानी, लाभांश, नाफा नोक्सान, जगेडा कोष, संचालक समिती, प्रमुख कार्यकारी अधिकृतको विवरण हेर्न पाउने छन् ?

यस्तै लगानीकर्ताको लगानी जोखिमलाई न्यूनिकरण गर्ने जस्तो नाफा बुक गर्ने र घाटा रोक्ने आदेशका बिशेषता के हुने छन् ? खरिद विक्री आदेश दिदा कति किसिमका आदेश राख्न सकिनेछ ? नयाँ ब्रोकर थप्न सक्ने क्षमता के हुनेछ ? लगानीकर्ताले कारोबार खातामा विभिन्न बैंकबाट कसरी पैसा जम्मा गर्न सक्ने छन् ? विदेशबाट कारोबार गर्न चाहनेले सिधै कारोबार खातामा पैसा जम्मा गरेर कारोबार गर्न सक्ने छन वा छैनन् ? नगद कारोबार र मार्जिन कारोबारको अलग व्यवस्था हुने छ कि छैन ?

यस्ता अनेकौं प्रश्नहरुको उत्तर नेप्सेले प्रणालीको सुरुवात गर्नुभन्दा अगाडि सार्वजनिक गर्नुपर्छ । जसले ब्रोकर, लगानीकर्ता तथा यसका सरोकारवालालाई पूर्वतयारी गर्ने अवसर प्रदान गर्छ । र, यो प्राविधिक पारदर्शिताको नमुना हुनेछ । जसरी श्वेत पत्र मार्फत अर्थमन्त्रीले सेयर बजारमापारदर्शिताको कुरा उठाएका छन् त्यसलाई ध्यान दिने हो भने अर्थमन्त्रालयले यसमा चासो दिएर कारवाही अगाडि बढाउन आवश्यक छ । भट्टराई सेयर बजार विश्लेषक हुन् ।


क्लिकमान्डु