मकैमा कस्ता लाग्छन् रोगहरु, कसरी गर्ने उपचार ?




काठमाडाैं । खेतबारीमा अहिले मकै खेती गर्नेलाई मकै रोप्ने तथा गोड्ने चटारो छ । नेपाली समाजमा मकैलाई अन्नको ‘राजा’ मानेर कुनै स्थानमा ‘खाए मकै नखाए भोकै’ भन्ने अबधारणा सहित मकै प्रवद्र्धन कार्यक्रम पनि सुरु भएको छ ।

तर, यही मकैका अचेल विभिन्न रोग देखा पर्ने गरेका छन् । सामान्य सतर्कता अपनाउँदा पनि मकैको विभिन्न रोग नियन्त्रण गर्न सकिने र यसले गर्दा उब्जाउ बढाउन सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

नेपालको कृषि विकास मन्त्रालय अन्तरगतको कृषि सुचना तथा संचार केन्द्रले मकैमा लाग्ने रोग, त्यसका लक्षण उपचारका केही विधिहरु सार्बजनिक गरेको छ । केन्द्रले सार्बजनिक गरेको त्यस्ता विधिहरुको बारेमा हामीले किसानलाई सोही जानकारी दिने प्रयास गरेका छौं ।

केन्द्रका अनुसार मकैको पात्तमा डढुवा भन्ने रोग लाग्ने गर्छ । यस्तो बेलामा पातमा ठूला चम्कीला अाँखा आकारका खैरा दागहरु देखा पर्छन्् । पछि ती थोप्लाहरु एक आपसमा जोडिई पातलाइ नै सुकाइ दिन्छन् ।

यस्तो समस्या समाधान गर्न स्वस्थ बीउको प्रयोग गर्नुपर्छ । रोग अबरोधक जातहरु जस्तै मनकामना ३, गणेश १ वा गणेश २ लगाउनु पर्छ । कार्वेन्डाजिम ५० प्रतिशत डब्लुपी बेभिष्टिन ढुसीनासक बिषादी २ ग्राम प्रतिकिलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्दा राम्रो हुन्छ ।

यस्तै घोगा कुहिने रोगले पनि मकैलाइ सताउने गर्छ । यस्तो बेलामा घोगाको टुप्पाबाट रातो वा गुलाफी रंङ भइ मकै कुहिन थाल्छ । यो रोगको व्यवस्थापनको लागि रोग अबरोधक जातहरु जस्तै गणेश २, मनकामना १ लगाउदा राम्रो हुन्छ । बीउ राख्दा स्वस्थ घोगाहरु छनोट गर्नु उचित हुन्छ । कार्वेन्डाजिम ५० प्रतिशत डब्लुपी बेभिष्टिक ढुसीनासक बिषादी २ ग्राम प्रतिकिलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्दा यस्तो रोग कम हुन्छ ।

यसरी नै मकैलाइ कालापोके रोग लाग्दा घानचमरा कालो भई लठ्ठा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो बीजाणुको कालोले भरीएको हुन्छ ।

यसलाई व्यवस्थापन गर्न स्वस्थ बीउको प्रयोग गर्नु पर्छ । साथै बारीमा कालो पोके रोग देख्ने बित्तिकै नष्ट गर्नुपर्छ । धेरै रोग आउने क्षेत्रमा कार्वेन्डाजिम ५० प्रतिशत डब्लुपी (वेभिष्टिन ) २ ग्राम प्रतिकेजी बीउको दरले उपचार गरी रोप्नु पर्छ ।

मकैमा देखिने अर्काे रोग डाँठ कुहिने हो । डाँठ कुहिने रोगमा भने जमिन भन्दा माथि डाँठको दोस्रो अाँख्ला नजिकैको भित्री भागको गुदीको रङ् बदलिन्छ र डाँठ कुहिन गइ बोट ढल्दछ ।

यस्तो समस्याबाट छुटकारा पाउन सिफरिस मात्रामा मलको प्रयोग गर्नु पर्छ । रोगको जीवाणु गभारोबाट सर्ने हुँदा उक्त गभारो नियन्त्रण गर्न कार्वाफ्युरान (फ्यूराडन ३ प्रतिशत) विषादी प्रयोग गर्नु पर्छ ।

डाउनी मिल्ड्यु रोगले पनि मकैलाइ दुःख दिने गर्छ । यो रोग लाग्दा मकैमा पातहरु पहेंलिएर सानो हुने तथा पातमा धर्सा भने नदेखिने हुन्छ ।

यसबाट बच्न स्वस्थ बीउको प्रयोग गर्नु पर्ने हुन्छ । रोग अवरोधक जातहरु रामपुर २, रामपुर कम्पोजिट लगाउनु पर्छ । मेन्कोजेव ७५ प्रतिशत डब्लुपि (डाइथेन एम ४५) विषादी ३ ग्राम प्रतिलिटर वा मेटालेक्सील ८ प्रतिशत मेन्कोजेव ६४ प्रतिशत (क्रिनोक्सील गोल्ड, किन्ग मील एमजेड, रिडोमिल एमजेड, ट्यागमील) २ ग्राम प्र िलिटर पानीमा मिसाएर छर्नु पर्छ ।

मकैमा ध्वासे थेगले रोग पनि लाग्ने गर्छ । यस्तो रोग लागेमा मकैमा धान चमरा निस्कने बेलामा फेद नजिकका पातमा शुरुमा स–साना पहेंला वा खैरा दाग बनाउँछ र दुई तीन हप्ता भित्र नसासँग समान अन्र्तरमा लाम्चिला धर्साहरुमा परिवर्तन हुन्छ । थेग्लाहरु जोडिदै गइ पुरै पात ध्वस्त हुन्छ । पातबाट डाँठ, घोगाको खोस्टामा पनि यो रोग सर्छ । घोगाहरु साना, हलुका, थाते, टेडा हुन्छन् ।

यसबाट मुक्त रहन गणेश १, मनकामना ३, मनकामना १, हिलपुल पहेंलो र देउती जातका रोग सहन सक्ने जातका मकै लगाउनु पर्छ । मकैको रोपाइ छिटोे र पातलो गरी रोपेको हुनुपर्छ । साथै घुम्ती बाली राम्रो मानिन्छ । बाली रक्षकले रोगीबोटका अवशेषहरु जलाउनु पर्छ । रोगको लक्षण देखिन साथ पात हटाउनु पर्छ । साथै मलखादको प्रयोग सन्तुलित रुपमा गर्नु पर्छ । ढुसीनासक विषदी वेभिष्टिन वा वेनोफेट १ ग्राम अथवा डाइथेन एम ४५ वा साफ २ ग्राम प्रतिलिटर पानीको दरले मात्रै छर्नुपर्छ ।

यसरी मकै खेती गर्ने किसानले आफ्नो बाली सुरक्षित बनाउन सक्छन् भने उत्पादन पनि बढी हुने केन्द्रको भनाइ छ ।


क्लिकमान्डु