ब्यापार हिस्सा घट्दा पनि नाफा बढायो नेपाल एयरलाइन्सले




काठमाडौं । राष्ट्रिय ध्वाजवाहक नेपाल एयरलाइन्स (नेवानि) ले गत आर्थिक वर्षमा ७३ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको छ । नेवानिले दुई वटा न्यारोबडी (एयरबस) मार्फत उडान सुरु गरेसँगै नाफा गर्न थालेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा १६ करोड २६ लाख ९० हजार रुपैयाँ घाटामा गएको नेवानि विगत दुई वर्षदेखि भने नाफामा गएको हो ।

नेवानिले आर्थिक बर्ष २०७३/७४ मा १० अर्ब १५ करोड २० लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ भने ९ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तो कारोबारबाट नेवानिले ७३ करोड ३४ लाख ४० हजार रुपैयाँ नाफा गरेको हो ।

नेवानिले आर्थिक बर्ष २०७२/७३ मा भने ६५ करोड ५४ लाख ६० हजार रुपैयाँ नाफा गरेको थियो ।

तर, नेवानिले जहाज उडाएर नाफा गरेको भने होइन । नेवानिको प्रमुख आम्दानीको स्रोत भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ हो । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ विश्वका मंहगा ग्राउन्ड ह्याण्डलिङमध्येमा पर्छ ।

नेवानिले अहिले गरेको नाफाले दुई वटा वाइडबडी खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको २५ अर्ब रुपैयाँको ९ प्रतिशतका दरले व्याज र किस्ता तिर्न पनि मुस्किल हुन्छ ।

अन्तर्राष्ट्रिय हवाई व्यापारमा १० प्रतिशत हिस्सा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भइरहेको अन्तर्राष्ट्रिय हवाई यातायातको व्यापारमा नेवानिको हिस्सा १० प्रतिशत मात्रै छ । ९० प्रतिशत व्यापार भने विदेशी एयरलाइन्सले लिएका छन् । बजार हिसा बढाउनका लागि जहाज थप्दै युरोप तथा अमेरिका सिधा उडान गर्नु पर्ने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।

नेवानिले अहिले माग अनुसारको टिकट बेच्न पनि नपाएको उनको गुनासो छ ।

सन् २०१६ मा हवाई यातायातको कुल ११ प्रतिशत व्यापार गर्न सफल नेवानिको व्यापार २०१७ मा भने १ प्रतिशतले घटेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अहिले विश्वका विभिन्न ३० एयरलाइन्स कम्पनीले उडान भरिरहेका छन् । यसमा नेवानि भने दोस्रो धेरै यात्रु बोक्न सफल एयरलाइन्स कम्पनी बनेको छ ।

तर, सन् २०१६ मा भने नेवानि पहिलो धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनी भएको थियो । नेवानिको बोइङ लामो समयदेखि ग्राउन्डेड हुँदा नेवानिले आफ्नो यात्रु गुमाएको थियो ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय हवाई यातायातमा भएको कुल व्यापारको ५.९ प्रतिशत हिस्सा ओग्टन सफल नेवानिले सन् २०१५ मा ७.९ प्रतिशत, सन् २०१६ मा ११ र सन् २०१७ मा १० प्रतिशत बनाउन सफल भएको हो ।


क्लिकमान्डु