हचुवाका भरमा निजीकरण गरिएको भन्ने अर्थमन्त्री खतिवडाको भनाइ नै हचुवाः महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले हचुवाका भरमा निजीकरण नगरिएको प्रष्ट पारेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि सार्वजानिक गरेको श्वेतपत्रमा हचुवाकार भरमा निजीकरण गरिएको उल्लेख गरेका थिए ।

०४६ सालको राजनीतिक परिवर्तनपछि ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर निजीकरणको नीति अबलम्बन गरेको थियो । निजीकरणको नीति अबलम्बन गर्दा डा. महत योजना आयोगको उपाध्यक्ष थिए । महेश आचार्य अर्थमन्त्री थिए ।

यो नीति अन्तर्गत सरकारी लगानीका संस्थानहरुलाई विभिन्न मोडालिटीमा निजीकरण गरिएको थियो ।

‘निजीकरण कानुनी हिसाबले गरिएको छ, अध्ययन गरेर गरिएको छ, जसमा प्रतिपक्षका सांसदहरु पनि सहभागी छन्,’ महतले भने, ‘ अहिले त निजीकरणको विषय नै सकिइसकेको छ । अर्थमन्त्रीजीले अहिले आएर किन निजीकरणको आलोचना गर्नुभयो थाहा भएन । हचुवाका भरमा निजीकरण गरियो भन्नु नै हचुवाको अभिव्यक्ति हो ।’


ठुलो आर्थिक बोझ बोकिरहेको संस्थानहरुको निजीकरण गरि उक्त आर्थिक बोझ हटाएर आर्थिक तथा सामाजिक विकासमा लगाइएको महतले जानकारी दिए ।

‘ऐन बनाएर र प्रतिस्पर्धा गराएर नै निजीकरण गरिएको हो, यदि निजीकरण गलत हो भन्ने लाग्छ भने ऐन संसोधन गरेर अघि बढे भइहाल्यो नि,’ महतले भने ।

सन् १९९० पछि खुला बजारको सुरुवात गर्दा ठुला उद्योग प्रतिष्ठान खुल्दा एकै वर्ष ९० हजारसम्म रोजगारी सिर्जना भएको पनि उनले बताए।

निजीकरणकै कारण अन्य नयाँ उद्योगहरु आए। रोजगारी सृजना भयोु उनले भने।

‘सरकारी स्वामित्वमा रहेका धेरै संस्थानहरुमा निजीकरण भएपछि राम्रो प्रगति गरेका छन् । केही संस्थानहरु चल्न सकेनन्,’ उनले भने ।


पुष्प दुलाल