काठमाडौंमा जम्दै ताइवानी हनीमेलन, जापानी किबी र अमेरिकी फुजी स्याउ




काठमाडौं । पोषण विज्ञहरु फलफूलको दैनिक सेवन आवश्यक हुन्छ भन्छन् । केही समय अगाडिसम्म नेपालीहरुले फलफूल खान विरामी नै पर्नुपर्छ भन्ने भनाइ खुबै चर्चित थियो । तर पछिल्लो समय परिस्थिति बदलिएको छ ।

नेपालमा फलफूलको खपद बढ्दै गएको छ । तर यस्तो फलफूल प्रायःजसो सबै विदेशबाट आयात हुने गरेको पाइएको छ ।

किबी, नास्पाती, फुजी स्याउ, हनी मेलन, भुइकटहर र स्वीट मेलन जस्ता फलफूल विदेशबाट नेपाल भित्रने गरेका छन् ।

हनी मेलन ताइवानबाट आयात हुने गरेको ब्यापारी बताउँछन् । हनी मेलनको माग बढ्दै गएका कारण होलसेल व्यवसायीहरु यो फल विदेशबाट नै भित्र्याउने गरेको बताउछन् ।

दश वर्षदेखि कुलेश्वरमा फलफूल व्यवसाय गर्दै आएका सनरेज ट्रेडिङ एक्सपोर्ट इम्पोर्टका विजय गुप्ता एक पटकमा १७ किरेटसम्म हनी मेलन ल्याउने गरेको बताउछन् ।

सो होलसेलमा हनी मेलनको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको छ । गुप्ताले व्यवसायीहरुलाई मात्र बेच्ने गरेका छन् । एक जना व्यक्तिले नै १ हजार देखि २ हजार दाना हनी मेलन किन्ने गरेको गुप्ता बताउछन् ।

यहाँनेर असमानजस्यता भने छ । पोषण विज्ञहरु दैनिक फलफूल सेवन गर्नुस भन्छन् । अर्थशास्त्री तथा योजना विज्ञहरु आयात अनियन्त्रित भएका कारण देशको ब्यापार घाटा उच्च भयो भनेर चिन्ता गर्छन् ।

सुइट मेलन पनि ताइवानबाट आउने गर्छ । होलसेलमा यसको मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ । व्यवसायी गुप्ता हनी र स्वीट मेलन बेच्दा ५ प्रतिशत जति फाइदा हुन आउने बताउछन् ।

‘यहाँ ल्याएर ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बेच्दा केही फाइदा हुन्न, जती पुरानो हुँदै गयो त्यती नै मूल्य झर्दै जान्छ’ गुप्ताले भने ।

यस्तै नेपालमा विक्री हुने किबी जापानबाट आउने गर्छ । किबी नेपालका केही भागमा उत्पादन गरिन्छ । तर, नेपालमा ३ महिना मात्र यसको सिजन भएको हुनाले अन्य महिना जापानबाट भित्र्याउनु पर्ने बाध्यता रहेको गुप्ता बताउछन् । किबी झापा, जनकपुर, नवलपरासी र किर्तिपूर लगायतका ठाउँबाट उपभोक्ताहरु आउने उनी बताउछन् ।

गुप्ता एक चोटीमा १८ सय बक्सा किबी ल्याउने गर्छन् । यो प्रतिकेजी १ सय ५० रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।

‘नेपालमा किबीको उत्पादन क्षेत्र भनेको झापा हो, उत्पादन भए पनि त्यसले धेरै बजार पाउँदैन, ३ महिना अलि सस्तो भए पनि बाहिरबाट आउँदा महंगो मूल्यमा किनेर भए पनि बेच्नुपर्ने हुन्छ’ गुप्ताले भने ।

यस्तै फुजी स्याउ नेपालमा सबै जसो चीनबाट आयात हुने गर्छ । एक पटकमा ९ सयदेखि ३५ सय बाकस आउने गरेको फुजी स्याको माग नेपाली बजारमा बढ्दो छ । फुजी स्याउँको मूल्य प्रतिकेजी २ सय रुपैयाँ रहेको छ । आफुले व्यवसायीहरुलाई बेच्दा १० देखि १२ बाकससम्म बेच्ने गरेको व्यवसायी गुप्ता बताउछन् ।

नेपालका जुस पसलमा काचो नरिवल झापा, मोरङ र सुनसरीबाट आउने गर्छ । भारतबाट ल्याउँदा ५ देखि ७ दिन लाग्ने भएकोले यसको रस सुकेपछि काम नलाग्ने हुँदा नेपालमै उत्पादित नरिवल ल्याउने गरेको बिएस फ्रुट सेन्टरका बिमल सिवाकोटी बताउछन् ।

‘झापाबाट उपत्यकासम्म २ दिनमै नरिवलका दाना आई पुग्छ, अर्को २ दिनमा बेची सकिन्छ’ सिवाकोटीले भने ।

कुलेश्वरको होलसेल बजारमा सानो नरिवल ५० रुपैयाँ प्रतिगोटा र ठूलो नरिवल ७० रुपैयाँ प्रतिगोटा रहेको छ । यसलाई नेपाली भन्दा भारतीय जुस पसल भएका व्यवसायीहरुले धेरै किन्ने गरेको उनको अनुभव छ ।

‘हामीले नेपाली जुसपसलेहरुलाई लगभन्दा यो काट्नै सकिदैन भन्छन्, भारतीय जुस पसलेहरु सजिलै काटेर जुस बेच्छन्, स्वास्थ्यका लागि पनि राम्रो भएकाले यसको माग राम्रै छ,’ सिवाकोटीले भने ।

यसको जुस मानिसहरु १ सय ५० रुपैयाँसम्म तिरेर खानेको गरेको उनको भनाइ छ । एक जना व्यवसायीले होलसेलबाट किन्दा ५० देखि ६० वटासम्म नरिवल किन्ने गरेको सिवाकोटी बताउछन् ।

मा सन्तोसी फ्रुट सेन्टरका व्यवसायी चाइनाबाट आउने फुजी स्याउ आफुले १ सय रुपैयाँ देखि २ सय ५० रुपैयाँसम्ममा विक्री गर्ने गरेको बताउछन् ।

एक पटकमा १० देखि १२ कार्टुन फुजी स्याउ ल्याउने गरेको व्यवसायी उमाकान्त अधिकारी बताउँछन्। ‘अहिले महंगो भए पनि यसको स्वाद राम्रो हुने भएको यसको माग बढ्दो छ,’ अधिकारीले भने ।

पसलका व्यवसायीहरुले मात्र किन्ने हुँदा स्याउमा २५ रुपैयाँसम्म फाइदा आउने गरेको उनले बताए । एउटा व्यक्तिले नै ५ देखि १० काटुनसम्म किन्ने गरेको उनको भनाइ छ । सानो फुजी स्याउ ८५ रुपैयाँमै बेचे पनि पसलेले १ सय रुपैयाँसम्म बेच्ने गरेको उनी बताउछन् ।

न्यू जनकपुर फ्रुट सेन्टरका व्यवसायी अमेरिकाबाट पनि फुजी स्याउँ आउने गरेको तर, त्यो स्याउ महंगो हुने गरेकोले चाइनाबाट आएको स्याउ बढी बिक्ने गरेको बताउछन् । व्यवसायी विष्णु प्रसाद चौलागाईका अनुसार फुजी स्याउ प्रतिकेजी १ सय ४० देखि २ सय ४० रुपैयाँसम्ममा विक्री हुने गरेको छ । एक जना व्यवसायीले नै १० देखि १ सय काटुनसम्म किन्ने गरेको फुजी स्याउ नेपालको बोडरसम्म विक्री हुने गरेको बताउछन् ।

सो स्याउ ५ देखि १० दिनसम्म स्टकमा राख्दा पनि नबिग्रीने भएका कारण धेरै विक्री हुने गरेको उनको भनाइ छ । एक पटकमा १२ सय केजीसम्म फुजी स्याउ चाइनाबाट उनले ल्याउने गरेका छन् । सबै फलफुल एकै ठाउँमा मिक्स गरेर बक्साको हिसाबले ल्याउने गरिएको छ ।

चिनिया नासपातीले पनि अहिले नेपाली उपभोक्ताको मन जित्न लागेको छ । यसको मूल्य होलसेलमा १ सय १० रुपैयाँ प्रतिकेजी रहेको ब्यापारी बताउँछन् ।

यसको मूल्य खुद्रा बजारमा प्रतिकेजी २ सय रुपैयाँसम्म हुने गरेको छ । एक पटकमा २२ सय काटुन चाइनीज नास्पाती ल्याउने गरेको मा जाल्पा फ्रुट सेन्टरका ब्यापारीले बताए ।

काठमाडौं उपत्यकाको फलफूलको थोक बजार कुलेश्वरमा गर्मी मौसमका लागि फलफूल आइपुगेका छन् । विशेष गरी गर्मी मौसममा बढी रुचाइने र सोही मौसममा बढी उत्पादन हुने भुँइकटहर, खर्बुजा नरिवल पानी जस्ता फलफूल काठमाडौं आइपुगेका हुन् ।

‘नेपालमा खर्बुजा खासै उत्पादन हुदैन, हामीले भारतबाट ल्याउने गरेका छौं, गर्मी सुरु हुन लागेकोले हामीले यो गर्मीको लागि पहिलो पटक खर्बुजा ल्याइसकेका छौं,’ सुरज फ्रुट सेन्टरका रजनी गुप्ताले क्किमाण्डूसँग भनिन् ।

हाल नेपालमा छिरमिरे र किरन गरी २ थरिका खर्बुजा पाइन्छ । किरन अलि महंगो पर्छ । कुलेश्वरमा अहिले खर्बुजाको होलसेल मूल्य प्रतिकेजी ६० रुपैयाँदेखि १०० रुपैँया छ ।

नेपालमा बार्षिक १० टनभन्दा बढी खर्बुजा खपत हुने गरेको छ । विशेष गरी भारतको आन्द्र प्रदेशबाट नेपालमा खर्बुजा आउने गरेको छ ।

पूर्बी नेपालको झापाको भद्रपूरमा पनि खर्बजु उत्पादन हुने गरेको छ । तर, भद्रपूरमा उत्पादित खर्बजुको गुणस्तर कम भएको ब्यापारीहरुको भनाइ छ ।

खर्बुर्जा बिक्रीमा आफूहरुले ५ प्रतिशत मात्रै नाफा खाएको ब्यापारी विजय गुप्ताले बताए । ‘२ दिनको लागि ब्यापार गर्ने होइन, हामी ५ प्रतिशत मात्रै नाफा खाएर विक्री गरिरहेका छौं,’ १० बर्षदेखि ब्यापार गर्दै आएका सनराइज ट्रेडिङका गुप्ताले भने ।

उनले भारतबाट काठमाडौंसम्म सामान ल्याइपुर्याउन प्रतिट्रक १ लाख ६० हजार भारतीय रुपैयाँ लाग्ने गरेको पनि बताए ।

कुलेश्वरमै स्थलगत रिपोर्टिङको क्रममा अर्काे लोकप्रिय फल भुइकटहर प्रसस्त मात्रामा देखियो । फोक्सोका विरामीको लागि उपयोगी मानिएको भइकटहर भारतकै सिलगुढीबाट बढी मात्रामा काठमाडौं आइपुग्ने गरेको रहेछ ।

कुलेश्वरमा भुइकटहर अहिले प्रतिगोटा ५० रुपैयाँदेखि १०० रुपैयाँमा होलसेल मूल्यमा विक्री भइरहेको आरर्बी फ्रुट्सका शिव भण्डारीले जानकारी दिए ।

सिलगुढी पछि भारतकै बंगालबाट पनि नेपालमा भुइकटहर आउने गरेको छ । पछिल्लो समयमा नेपालमा पनि भुइकटहरको भने उत्पादन बढ्दो क्रममा रहेको ब्यापारीहरुले बताए ।

चैत १६ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय ब्यवस्थापिका संसदमा देशको आर्थिक अबस्थाको बारेमा श्वेत पत्र प्रस्तुत गरे । सो श्वेतपत्रमा धेरै विषय थिए । तीमध्येमा देशको ब्यापार घाटा अनियन्त्रित रुपमा बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरिएको थियो ।

पछिल्लो समय नेपालीमा फलफूल खाने बानी बढेको छ । तर, फलफूल उत्पादन गर्ने बानी अझै बसेको छैन । बानी लागेपछि नेपालमा उत्पादन भएन भनेर अहिलेको विश्वग्रामको अवधारणामा चुुप लागेर बस्ने कुरा पनि भएन । पैसा तिरेपछि विश्वको जुनसुकै कुनामा उत्पादन भएको बस्तु पनि नेपालमा खान पाइने भएको छ ।

यहाँनेर असमानजस्यता भने छ । पोषण विज्ञहरु दैनिक फलफूल सेवन गर्नुस भन्छन् । अर्थशास्त्री तथा योजना विज्ञहरु आयात अनियन्त्रित भएका कारण देशको ब्यापार घाटा उच्च भयो भनेर चिन्ता गर्छन् । बजेटमा बर्सेनि कृषि परियोजनाका कार्यक्रम र बजेट बढेको छ । तर, अहिले पनि हामी अमेरिकाको स्याउ, जापानी किबी, ताइवानी हनी मेलन तथा आन्द्र सिलगुढीको भुइकटहर कहिले आइपुग्ला भनेर कुरेर बसेका छौं ।


क्लिकमान्डु