चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज ३ दिनदेखि ग्राउन्डेड



काठमाडौं । चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज ३ दिनदेखि ग्राउन्डेड भएको (पार्किङमा थन्क्याइएको) छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्ने क्रममा ३ दिनअघि हिमालयन एयरको जहाजमा चरा ठोक्किएको थियो ।

चरा ठोक्किँदा पनि जहाज दुर्घटना हुनबाट बचेको थियो । नेपालमै पनि धेरै ठूलो दुर्घटनाहरु चरा ठोक्किएर भएका छन् ।

तर, चरा ठोक्किएको ठाउँमा जहाजलाई असर पुगेकाले त्रिभुवन बिमानस्थलभित्रको पार्किङमा राखेर मर्मत गरिरहेको बिमानस्थल स्रोतले जनाएको छ ।

चरा ठोक्किँदा जहाजलाई के कस्तो क्षति पुग्यो भन्नेबारे खुलाइएको छैन । तर, यसरी चरा ठोक्किएको जहाज मर्मत नगरी चलाउन नमिल्ने अन्तर्राष्ट्रिय नियम भएकाले अहिले मर्मत भइरहेको हिमालयन एयरलायन्सको उच्च स्रोतले जानकारी दियो ।

‘जहाजमा चरा ठोक्किएको हो, तर के कति क्षति पुग्यो भन्ने विवरण आइसकेको छैन,’ हिमालयन एयरलाइन्सका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘केही दिनभित्रै मर्मत सकेर नियमित उडान भर्छौं ।’

जहाज निर्माता कम्पनीको नियमअनुसार पनि चरा ठोक्किएपछि सो भागको मर्मत नगरी उडान भर्न नपाइने नियम छ ।

नागरिक उड्ययन प्राधिकरणका सेफ्टी प्रमुख भेषराज सुवेदीले पनि ३ दिनअघि चरा ठोक्किएपछि हिमालयन एयरलाइन्सको जहाज विमानस्थलमा ग्राउन्डेड गरी मर्मत् भइरहेको जानकारी दिए ।

‘हामीलाई पनि अवतरणका क्रममा चरा ठोक्किएको जहाज अहिले मर्मत भइरहेको छ भन्ने जानकारी दिइएको छ,’ सुवेदीले भने ।


पुष्प दुलाल