नागढुङ्गा–नौविसे सुरुङमार्गको डीपीआर २ सातामै, थानकोटबाट ९ मिनेटमै नौविसे




काठमाडौं । राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख नाका त्रिभुवन राजपथमा बन्न लागेको नेपालकै पहिलो सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २ सातामा तयार हुने भएको छ ।

राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि–सिस्ने खोलासम्म २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

नागढुङ्गा–नौविसे सुरुङमार्गको डीपीआर २ साता भित्रमा तयार हुने सडक विभाग वैदेशिक समन्वय महाशाखाका उप–महनिर्देशक सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

जापानी सहयोग नियोग (जाइका) ले सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ ।

‘जाइकासँग छलफल भएको छ, उसले २ साता भित्रमा डीपीआर बुझाउने बताएका छ, डीपीआर तयार भएपछि सुरुङ मार्ग निर्माण प्रकृया अगाडि बढ्नेछ’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

कस्तो हुन्छ सुरुङ ?
राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाई २.७ किलोमिटर र चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ ।

सुरुङमा साढे ३ मिटर दरका २ लेन सडक र बाँकी साढे २ मिटर यात्राका क्रममा सवारीमा कुनै समस्या आएमा साइड लगाउन मिल्नेगरी निर्माण गरिनेछ । सो सडकका कारण बिग्रेका सवारीसाधनले जामको समस्या निम्त्याउने छैन ।

नेपालका धेरै जस्तो सडकमा बिग्रेका सवारी साधन राख्नका लागि छुट्टै लेनको व्यवस्था गरिएको देखिदैन । कोटेश्वर–सुर्यविनायक खण्डको सडकमा भने बिग्रेका सवारी साधन पार्क गर्नका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ ।

सुरुङको पूर्वीद्वार नागढुङगाको फेदीमा पर्ने बस्नेत छापमा ‘ह्विल माउथ’ आकारको हुनेछ । सुरुङमार्गको पश्चिमद्वार बलम्वुबाट दहचोकसम्म ३.८ किलोमिटरको नयाँ सडक बनाइने छ । सो सडकले नागढङ्बाट घुमेर जानु पर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्ने महाशाखाले अनुमान गरेको छ भने सडकको लम्बार ८ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।

खर्च कति लाग्छ ?
सडक विभागका अनुसार सुरुङमार्ग बनाउन २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १६ अर्ब रुपैयाँ सहुलियत ऋण दिने सम्झौता गरिसकेको उम–महानिर्देशक श्रेष्ठ जानकारी दिन्छन् ।

जापान सरकारको सहयोगका बाबजुत ६ अर्ब रुपैयाँ सुरुङमार्ग निर्माणका लागि अपुग देखिन्छ । त्यसका लागि सरकार वा वैदेशिक निकायबाट सहयोग लिन सकिने उनी बताउँछन् ।


क्लिकमान्डु