ओलीको ‘ड्रिम प्रोजेक्ट’ पूर्व-पश्चिम रेलको लागत कति ?



काठमाडौं । सरकारले चालु आव २०६६/६७ देखि पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म रेल सञ्जाल निर्माण सुरु गरेपनि खासै प्रगति भएको छैन ।

केपी ओली प्रधानमन्त्री बनेसँगै रेल मार्ग निर्माणले तीब्रता पाउने अपेक्षा गरिएको छ । रेल भनेकै केपी ओली भनेर प्रचार हुने गरेको छ ।

सरकारले पूर्व–पश्चिम रेल मार्ग निर्माणका लागि ६९ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान सहित काम थालली गरेको हो । रेल मार्गको लम्बाई ९ सय ४६ किलो मिटर हुने छ ।

चालू आवमा सरकारले रेल मार्ग निर्माणका लागि ४ अर्ब १ करोड ७० लाख ४७ हजार रुपैयाँ विनियोजन गरेपनि वजेट समिक्षा अवधिसम्म १ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

चालू आवको समिक्षा अवधिसम्म ३६.०५ प्रतिशत रकम खर्च भएको छ । तर, गत आवको यसैअवधिमा भने विनियोजन बजेटको ३४.३१ प्रतिशत मात्रै खर्च भएको थियो ।

रेल मार्ग निर्माणका अहिलेसम्म बर्दिवास–काकडभिट्टासम्मको २ सय ४७ किलो मिटरको डीपीआर तयार भएको छ भने बुटवल–गड्डाचौकीसम्मको ४ सय २१ किलोमिटरको रेल मार्गको डीपीआर बन्दै छ ।

यसैगरी काठमाडौं–बीरगञ्ज अन्तर्गतको रेल मार्ग निर्माणका लागि आवश्यक डीपीआर निर्माणमा परामर्शदाता छनोटको प्रक्रिया चल्दैछ ।

यसैगरी बर्दिवास–सिमरा खन्डको १ सय ८ किलोमिटर मध्ये बर्दिवासदेखि लालबन्दीसम्मको २५ किलो मिटरमा ट्र¥याक निर्माण कार्य धमाधम भइरहेको छ । यसैगरी बर्दिवासदेखि निजगढसम्मको ७० किलो मिटरका १० वटा पुल निर्माण हुँदै छ ।

यसैगरी जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–विजुलपूरा खन्डको ५२ किलो मिटर खन्डको ८० प्रतिशत काम सकिएको छ । जयनगर–जनकपुर खन्ड आगामी अक्टोबर २०१८ भित्र निर्माण सक्ने सरकारी लक्ष्य छ ।


पुष्प दुलाल