एपेक्स डेभलपमेन्ट बैंकमा यसरी भएको थियो डेढ अर्ब रुपैयाँको अनियमितता



काठमाडौं । चुक्ता पुँजी बढाउने तीब्र दबाबमा रहेको एनसीसी बैंकले मर्जरका लागि पार्टनर पाइरहेको थिए । कुमारी बैंकसँग मर्जरको सैद्दान्तिक सहमति भएपनि कुमारी बैंकका प्रवद्धकहरुको विरोधका कारण मर्जर भाँडिएको थियो ।

मर्जर भाँडिएपछि एनसीसी बैंकले विकास बैंकहरुलाई गाभेरै भएपनि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउन केन्द्रित भयो । सोही क्रममा २०७१ मंसिर ११ गते एनसीसी बैंकले सुप्रिम, इन्फ्रास्टक्चर र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सैद्दान्तिक सहमति गर्यो ।

पुँजी बढाउनु पर्ने दबाबमा रहेका विकास बैंकहरुलाई पनि मर्जर उत्तम विकल्प लाग्यो ।

तर, जब मर्जरमा जाने सहमति भयो । तब एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धितालसहित सञ्चालकहरु इच्छाबहादुर गुरुङ र सुवर्णराज भण्डारीले त्यो समयलाई कमाउ धन्धाको समय बनाए ।

अध्यक्ष धितालले बैंकको शक्ति कांग्रेसको राजनीति गर्नमा समेत प्रयोग गर्दै आएका थिए । बैंकमा व्यावसायिकता भन्दा स्वाथ्र्यता मौलाउँदै गयो ।

अध्यक्ष र सञ्चालकहरुले मात्रै होइन, बैंकका कर्मचारीहरुले पनि मर्ज हुनुअघि नै कमाउ धन्धा सुरु गरे । अनि सुरु भयो एपेक्स डेभलपमेन्ट बैंकमा डेढ खर्बको कर्जा अनियमितता काण्ड । काण्डमा दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज लगायतका शाखा का प्रमुख तथा कर्मचारीहरु सक्रिय रहे ।

कमिशनको लोभमा उनीहरुले जनताको पैसाको ख्यालै नगरी अनियमितता गर्न थाले । कतिपय कर्जा नक्कली ऋणी खडा गरी आफैं लिए भने कतिपय कर्जा कमशल धितोमै दिए । यसरी ऋण दिँदा कर्जा लिने मान्छेबाट उनीहरुले राम्रै कमिशन लिए । उनीहरुको कमाउ धन्धा फस्टाउँदै गयो ।

मर्जरमा जाने सैद्दान्तिक सहमति भएको १३ महिनापछि मर्ज भयो । तर, त्यसबेलासम्ममा बैंकका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कर्जा अनियमितता गरिसकेका थिए ।

मर्जपछि एकीकृत कारोबार उदघाटन कार्यक्रमको तस्बीर

०७३ असोज मसान्तमा एनसीसी बैंक एक्लैले १२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । ०७२ पुस मसान्तमा एनसीसी एक्लैले २४ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

०७२ पुसमा पुस मसान्तमा एपेक्सले ८ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सुप्रिमले ७ करोड ८६ लाख, इन्फ्रास्टक्चरले ५ करोड ५५ लाख र इन्टरनेसनलले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

राष्ट्रियस्तरका ४ बिकास बैंक थपेपछि एनसीसीको खुद नाफा साढे ३ सय प्रतिशत जति घट्यो ।

यसबाहेक मर्जर हुदा एपेक्सको स्वाप रेसियो ४८, सुप्रिमको ७७, इन्फ्रास्टक्चरको ७७ र इन्टरनेसनलको ७३ तोकिएको थियो । एनसीसीको १०० थियो ।

एपेक्स डेभलपमेन्ट बैंकबाट आएको कर्जामा समस्या देखिएका कारणले एनसीसी बैंकले ०७३ पुस मसान्तमा संभावित जोखिम व्यवस्था (प्रोभिजन) गर्नु पर्यो । जसकारण ०७२ पुस मसान्तको भन्दा मर्ज भएपछि ०७३ पुस मसान्तमा बैंकको नाफा ३०० प्रतिशतले घट्यो ।

मर्जर पक्रियामा रहँदा सञ्चालक तथा कर्मचारीहरुलाई बैंकको स्वास्थ्यको बारेमा भन्दा बढी आफ्नो पद रहन्छ कि रहँदैन भन्ने चिन्ता बढी रह्यो । जसकारण एपेक्सको काण्ड बाहिरिन सकेन ।

जब एकीकृत वित्तीय विवरण बनाउन थालियो । त्यसबेला एपेक्समा ठूलो समस्या रहेको तथ्य पत्ता लाग्यो । तर, कोही कसैले बोल्ने आँट गरेनन् ।

०७३ पुस ३ गते एकीकृत कारोबार भएपछि एपेक्सको कर्जा अनियमितताबारे सञ्चालक र कर्मचारीहरुमा चर्चा चल्न थाल्यो ।

मर्ज हुनुअघि नै लामो समयदेखि एनसीसी बैंकको सञ्चालक समितिमा ठूलो बिाब भइरहन्थ्यो । मर्जपछि पनि विवाद कायमै रह्यो । एपेक्सको खराब कर्जाले एनसीसीको ब्यवस्थापन र सञ्चालक समितिलाई तनाब दिइरह्यो ।

एपेक्सको बिग्रिएको कर्जाको विषयमा एनसीसीले छानविन सुरु गर्यो । छानविन गर्दा अनियमितता भएको फेला पर्यो । र, उक्त रिपोर्टसहित एनसीसीले नियामक नेपाल राष्ट्र बैंकमा उजुरी गर्यो ।

राष्ट्र बैंकले पनि छानविन गर्यो । राष्ट्र बैंकको छानविनले पनि एपेक्समा अनियमितता भएको ठहर गर्यो । र, कर्जा अनियमितता गर्नेहरुका विरुद्ध उजुरी दिन राष्ट्र बैंकले एनसीसीलाई सुझायो ।

राष्ट्र बैंकको सुझाब अनुसार नै केही महिना अघि एनसीसी बैंकले ३ दर्जन विरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोमा उजुरी थियो । एनसीसीको उजुरीपछि सीआइबीले छानविन थाल्यो । सीआइबीले छानविन गर्दा पनि कर्जा अनियमितता भएको फेला पर्यो ।

र, सीआइबीेले शुक्रबार अभियुक्तहरु ३५ जनालाई पक्राउ गर्यो । जसमध्ये १३ जना मुख्य अभियुक्त देखिएको र अन्य अभियुक्तहरुले कसूर गरेको प्रमाण नजुटेपछि छाडिदिएको छ । उनीहरुलाई बयानका लागि आगामी दिनमा बोलाउने शर्तसहित सीआइबीले छाडेको हो ।