गम्भीर रोग लागेकालाई कर्मचारी सञ्चय कोषले ल्यायो ‘स्वास्थ्य सहयोग योजना’



काठमाडौं । कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ ।

कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गौला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन लागिएको हो ।

‘सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले नयाँ कार्यक्रम ल्याउन लागेका हौँ,’ कोष कावा प्रमुख प्रशासक दीपक रौनियारले भने ।

त्यस्तो सुविधामा के–कति रकम उपलब्ध गराइने भन्ने विषयमा केही समयभित्रै आवश्यक निर्णय गरिने कोषले जनाएको छ ।

कोषले काजकिरिया खर्चवापत ३० हजार, दुर्घटना क्षतिपूर्ति रु १ लाख २५ हजार, औषधोपचार सुविधामा २५ हजारदेखि ५० हजारसम्म र सुत्केरी तथा शिशु स्याहार खर्च ७ हजार ५०० दुई पटकसम्म दिँदै आएको छ ।
कोषको नाफा रकमबाट सञ्चयकर्तालाई सामाजिक सुरक्षा प्रदान गरिएको र त्यसलाई थप वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको रौनियारले जानकारी दिए ।

सञ्चयकर्ता कल्याणकारी कोषमा आर्थिक वर्ष २०७३/७४ मा रु २० करोड ८३ लाख अर्थात् खुद नाफाको ११ प्रतिशत रकम सञ्चयकर्ता कल्याणकारी कोषमा जम्मा गरिएको थियो । यस्तै आव २०७२/७३ मा रु १५ करोड ९९ लाख जम्मा भएको थियो ।

सोही कोष सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गरिएको छ । कोषले आव २०७३/७४ मा १ अर्ब ८९ करोड तथा आव २०७२/७३ मा रु एक अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो ।

जलविद्युत्मा आक्रामक लगानी

कोषले माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशीमा हालसम्म २२ अर्ब लगानी गरिसकेको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यता स्थापना गर्न कोषले प्रयास गरेको र त्यो क्रमशः सफल हुँदै गएको कावा प्रमुख प्रशासक रौनियारको जिकिर छ ।

यस्तै कोषले सहायक कम्पनी स्थापना गरेर आफैँ जलविद्युत् आयोजना निर्माणमा समेत हात हालेको छ । बेतन कर्णाली जलविद्युत् कम्पनी लिमिटेडमार्फत कोषले ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण शुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको एनइए इञ्जिनीयरिङ कम्पनीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन९डिपिआर०को काम गरिरहेको छ । एक वर्ष छ महिनामा डिपिआर तयार हुने र निर्माण शुरु गरिहाल्ने योजनामा कोष रहेको छ ।

सो आयोजनाको कूल लागत ७० अर्ब छ । कोषले आफ्नो भागमा परेको ८ अर्ब स्वपूँजी आगामी चार वर्षभित्र जुटाउनछ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी र नागरिक तथा स्थानीयवासीको समेत शेयर लगानी रहनेछ ।

वायु सेवामा लगानी

कोषले नेपाल वायुसेवा निगमलाई जहाज खरिदका लागि हालसम्म रु १४ अर्ब लगानी गरिसकेको छ । निगमले यसअघि ल्याएका दुई जहाजका लागि मात्रै रु १० अर्ब लगानी गरेको छ ।

कोषको ऋण सहयोगमा निगमले दुई वर्ष पहिले ‘न्यारो बडी’ जहाज ल्याएर सञ्चालन गरिरहेको छ । यस्तै दोस्रो चरणमा निगमको ‘वाइड बडी’ जहाज खरिदका लागि रु चार अर्ब ५० करोड उपलब्ध गराइसकेको छ । निगमले पहिलो चरणमा लिएको रु १० अर्ब ऋणमध्ये हालसम्म रु ५० करोड सावाँ र ब्याज भुक्तानी गरिसकेको छ ।

एसएमएस लागू गरिँदै

कोषमा आबद्ध सञ्चयकर्ताको सञ्चय कोष तथा सापटीसम्बन्धी कारोवारको सूचनामा मोबाइल फोनमा एसएमएसमार्फत जानकारी दिने प्रणाली शुरु गर्न लागेको छ । त्यस्तो प्रणाली आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । कारोवार हुँदाकै बखत जानकारी गराउने उद्देश्यले उक्त प्रणाली लागू गर्न लागिएको हो ।


पुष्प दुलाल