बैंकर्स एसोसिएसनको कार्टेलिङसामु टिकेन एनआइसी एशिया बैंक, घटायो ब्याज




काठमाडौं । एनआइसी एशिया बैंकले ब्याज बढी दिने गरी संचालन गरेको बचत र मुद्दति खाता योजना आगामी शुक्रबारदेखि बन्द गर्ने भएको छ । एनआइसीले बढी ब्याज दिएको भन्दै नेपाल बैकर्स एसोसिएसन र डेभलपमेन्ट बैंकर्स एसोसिएसनले सो बैंकमाथि प्रतिबन्द लगाउने औपचारिक निर्णय गरेपनि एनआइसी एशिया आफ्नो योजनाबाट पछि हट्न बाध्य भएको हो ।

‘फाल्गुन ११ देखि संचालनमा आएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबारसम्म मात्र नयाँ खाता खोल्न सकिने छ, तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्द गरिने छ,’ बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालै सृजित असहज परिस्थितीले यी दुवै योजनाहरुलाई बन्द गर्नु परेको बैंकको भनाइ छ । ‘ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सोबाट आमग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाप्रति बैंकले आभार प्रकट गरेको छ । अहिले एनआइसी एशियाको मुलुकभर गरी १८३ शाखा सहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जालभएको बैंक बन्न सफल भएको छ । यस्तै बैंकले १८५ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ ।

समग्रमा एनआइसी एशिया ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५ हजारभन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५ हाजर ३७५ भन्दा बढि भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ ।

बैंकको सेवा ग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगिसकेका छन् । यो संख्याका हिसाबले पनि एनआइसी एशिया बैंक मुलुककै अग्रणी वाणिज्य बैंकमा परेको छ । त्यसैगरी वित्तीय परिसुचकांककाहिसाबले समेत सो बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भएको छ ।

बैंकको वासलातको आकार १ खर्ब ४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ खर्ब ४ अर्ब र कुल निक्षेप करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुगिसकेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु