इन्भेष्टर फोरमले अर्थमन्त्रीलाई भन्योः सेयर बजारबारे हल्का टिप्पणी नगरिदिनुस्




काठमाडौं । सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापन पत्रमा पूँजीबजारसँग सम्बन्धित सुचना तथा विषयहरुलाई हल्का रुपमा सम्प्रेषण नगर्न सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।

फोरमले सोमबार अर्थमन्त्री डा. खतिवडालाई यस्तो ज्ञापनपत्र बुझाएको हो । पुँजी बजार जस्तो सम्बेदनशील बिषयमा जिम्मेवार अधिकारीले हल्का ढंगबाट सुचना तथा बिषयहरुलाई सम्प्रेषण गर्दा बजारमा नकारात्कम असर पर्ने भएकोले यस्तो अनुरोध गरिएको फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए ।

‘अर्थमन्त्री, अर्थसचिब, धितोपत्र बोर्ड, सीडीएससी, नेप्से, लगानीकर्ता, लगानीकर्ताका संघ संस्थाहरु, नेपाल राष्ट्र बैंक, सम्बन्धित कम्पनी तथा ब्रोकरहरुले पुँजी बजारको सुचना तथा विषयबस्तुलाई हल्ला ढंगले सम्प्रेषण गर्नु भएन, यसो हुँदा बजारमा नकारात्मक असर पर्ने भएकोले हामीले अर्थमन्त्री मार्फत यस्तो आग्रह गरेका हौं,’ अध्यक्ष पौडेलले भने ।

यस्तै फोरमले आज किनेको सेयर आजै बेच्न पाउनु पर्ने माग पनि अर्थमन्त्रीसँग गरेको छ । अहिले आज किनेको सेयर कार्यालय खुलेको ३ दिन पछि मात्रै बेच्न पाइन्छ । यस्तो ब्यवस्थाले बजारबाट तत्काल प्राप्त हुने लाभ लिन नपाएकोले आजको सेयर आजै पनि बेच्न पाइने ब्यवस्था गर्न माग गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।

‘एउटै कम्पनीको सेयर पनि बिहान बढेको बेलुका घट्ने वा बिहान घटेको बेलुका बढ्ने हुन सक्छ, आज किनेको वा बेचेको सेयर आजै किन्न वा बेच्न पाइने ब्यवस्था भयो भने त्यस्तो ब्यवस्थाले लगानीकर्ताले बजारको अबसर प्राप्त गर्ने भएकोले कारोबार बढ्छ भनेर यस्तो माग गरिएको हो,’ अध्यक्ष पौडेलले भने ।

फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको ज्ञापनपत्र यस्तो छः

माननीय अर्थमन्त्रीज्यू,
अर्थमन्त्रालय,
सिंहदरबार काठमाडौं ।

राजनीतिले क्रमशः निकास पाईरहेको र सबैको प्रमुख प्राथमिकता आर्थिक समृद्धि र विकास भएको बर्तमान अबस्थामा नेपालको अर्थतन्त्र र बिकासका समस्याहरुलाई मुलभुत रुपमा बझ्नु भएको बिद्धान अर्थशास्त्री अर्थमन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै तपाईको नियुक्तीलाई भोलिको समृद्ध नेपालको प्रारम्भिक संकेतको रुपमा नेपालइन्भेष्टर्स फोरम लिएको छ । संघीय गणतन्त्र नेपालको इतिहासमा तपाईको कार्यकाल स्वर्ण अक्षरमा लेखिने छ भन्ने बिश्वास ब्यक्त गर्न चाहान्छौं ।

विगत केही समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार र त्यसले आमलगानीकर्ताहरुमा पारेको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति नेपाल इन्भेष्टर्स फोरमको गम्भीर ध्यानाकर्षण भएको छ ।

मूलूकले दशकौको राजनीतिक अन्योललाई पार गर्दै आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्दै गर्दा अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर रुपमा घटिरहनु र सम्बन्धित निकायहरु प्रतिकृया विमुख रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरुको भावनामा गम्भीर चोट पुगेको छ ।

विगतमा लगानीका अन्य क्षेत्रहरु सुसुप्त रहेको अवस्थामा बिधार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म र गृहणीदेखि सेवानिवृत ब्यक्तिहरु सम्म, ठूला ब्यबसायिक घरानादेखि साना ब्यबसायीहरुले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको कुरा विगत ५ बर्षको तथ्यांकबाट प्रष्ट देख्न सकिन्छ ।

निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका बिषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूँजीबजार मार्फत ब्यबसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौं लगानीकर्ताहरु निरुत्साहीत भएका छन् ।

पूँजीबजारको विकास र विस्तारको लागि यस फोरमले विगतमा उठाइएका मागहरुको यथा समयमा सम्बोधन नहुनु नै पूँजीबजार निरन्तर घट्नुको प्रमुख कारण हो भन्ने हाम्रो बुझाई हो । तसर्थ बिगतमा हामीले उठाएका देहायका मागहरु सम्बन्धित निकायमार्पmत सम्बोधन गर्न जोडदार माग गर्दछौं ।

– सम्झौता गरिएको अवधीभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्ने ।

– ब्रोकरको संख्या तथा क्षेत्रधिकार विस्तार गरी आस्वामा आवद्ध वाणिज्य बैंकहरुमार्फत शेयर कारोबार गर्ने सूविधा विस्तार गर्ने ।

– गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने ।

– धितोपत्र बोर्ड, नेप्से, सिडिएससि लगायतका निकायहरुमा क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने ।

– नेप्सेको संरचनागत सुधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने ।

– ब्रोकर सेवा शुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप वनाउने ।

– शेयर कर्जामा लगाईएको पूँजीगत जोखीमको भार १०० प्रतिशतमा झार्ने ।

– शेयर धितो कर्जामा कर्जाको सीमा बजार मूल्यको ७० प्रतिशत पु¥याउने ।

– ब्रोकर मार्फत शेयर धितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने ।

– सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियम तत्काल निर्माण गरी कार्यान्वयन गर्ने ।

– मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने ।

– सर्ट सेलिङ्ग, अन्तर दिन कारोबारको व्यवस्था गरी चाँडोभन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने ।

– हालकायम ३ दिनको राफसाफलाई १ दिन वा कारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने ।

– सूचीकृत कम्पनीहरुले प्रदान गर्ने बोनस शेयर बार्षिक साधारणसभा सम्पन्न भएको ७ दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७ दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने ।

– डेबेञ्चर तथा बोण्ड मार्केटलाई ब्यबस्थित तथा तरल बनाउने ।

– फाईनान्सियल डेरिभेटिभको कारोबार संचालनमा ल्याउने ।

आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भिर हुन ध्यानार्षण गराउदै पूँजीबजारसँग सम्बन्धित सुचना तथा विषयहरुलाई हल्का रुपमा सम्प्रेषण नगर्न सरोकारवालाहरुलाई अनुरोध गर्दछौं ।


क्लिकमान्डु