इन्भेष्टर फोरमले देख्यो पुँजी बजारको सुनौलो भविष्य, दियो यस्ता ७ कारण




काठमाडौं । सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर फोरमले अहिले सेयर बजारमा निरासा छाएपनि भविष्य सुनौलो रहेको बताएको छ । पुँजी बजार निरन्तर ओरालो लागिरहेको समयमा फोरमले प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजारको भविष्य सुनौलो रहेको दाबी गरेको हो ।

फोरमले ७ कारण दिएर पुँजी बजारको भविष्य सुनौलो रहेको दाबी गरेको छ । स्थीर सरकारको निर्माण, सी आस्वाको सफल कार्यान्वयन मार्फत साधारण सेयर (आइपिओ) को आवेदन तथा बाँडफाँडमा भएको समयको बचत र प्रविधिको प्रयोग तथा दिनानुदिन बढ्दै गएको लगानीकर्ताको संख्या जस्ता कारणले पुँजी बजारको भविष्य सुनौलो रहेको फोरमको भनाइ छ ।

यस्तै फोरमले बजारमा बढ्दै गएका म्युचुअल फण्ड, तथा संस्थागत लगानीकर्ता, छिट्टै संचालनमा आउन लागेको अनलाइन कारोबार प्रणाली, सुचिकृत कम्पनीहरुको ब्यवसाय तथा कमाइमा भएको बढोत्तरी, पुँजीगत खर्चको बढोत्तरीसँगै बजारमा बढ्न जाने तरलता लगायतका कारणले पुँजी बजारको आगामी दिन राम्रो रहेको फोरमको भनाइ छ ।

केही दिनयता पुँजी बजार निरन्तर घटिरहे पनि सम्बन्धित निकायले कुनै चासो नदिएकोप्रति भने फोरमले असन्तुष्टि जनाएको छ । आफूहरुको जायज मागको सम्बोधन नभएकोले नै अहिले पुँजी बजारमा निरासा छाएको भन्दै फोरमले आफ्ना यस्ता मागहरुको सार अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको पनि जानकारी दिएको छ । फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।


क्लिकमान्डु